काठमाडौं । नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३ आजदेखि सुरु हुँदैछ । प्रर्दशनको सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गर्नेछ् ।
नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बरसितको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास सङ्घ र नेपाल जग्गा तथा आवास विकास महाङ्घले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीको सभामुख अर्यालले बिहान १०ः३० मा उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । प्रदर्शनी संयोजक रोशन भोयद्योका अनुसार प्रर्दशनीको सबै तयारी पूर्णरूपमा तयार भएको छ ।
असोज ४ गतेसम्म हुने प्रदर्शनीमा अपार्टमेन्ट तथा संयुक्त आवास, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्वचालन प्रविधि, प्रिफ्याब तथा युपिभिसी ढोका–झ्याललगायतका क्षेत्रका कम्पनी तथा व्यवसायी सहभागी हुनेछन् ।
त्यसैगरी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अस्पताल तथा स्वास्थ्य सेवा, इन्जिनियरिङ तथा वास्तुकला परामर्श, घरजग्गा विकासकर्ता र निर्माण व्यवसायसँग सम्बन्धित संस्थाको समेत सहभागिता रहनेछ । नेपालसँगै भारतबाट समेत विभिन्न कम्पनी तथा व्यवसायी प्रदर्शनीमा सहभागी हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीलाई घरजग्गा खरिद–बिक्रीमा मात्र केन्द्रित नगरी सुरक्षित, व्यवस्थित र वातावरणमैत्री आवास निर्माणसम्बन्धी जानकारी तथा परामर्श दिने थलोका रूपमा विकास गर्ने तयारी गरिएको छ । भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञहरूले अवलोकनकर्तालाई निःशुल्क परामर्श दिनेछन् ।
प्रदर्शनीको अर्को मुख्य आकर्षणका रूपमा समसामयिक आवास तथा पूर्वाधारका विषयमा प्यानल छलफल आयोजना गरिने भएको छ। जलवायु परिवर्तन, विपद्–प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान र सार्वजनिक–निजी साझेदारीका विषयमा नीति निर्माता, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट, निजी क्षेत्र तथा सम्बन्धित विज्ञबीच छलफल हुनेछ।
जलवायु परिवर्तनका कारण बढिरहेको विपद्को जोखिमबीच सुरक्षित बस्ती तथा पूर्वाधार निर्माण, विपद्पछि आवास पुनर्निर्माण र पूर्वाधार विकासमा सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय छलफलका प्रमुख विषय हुने आयोजकले जनाएको छ।
प्रदर्शनीमा आधुनिक तथा वातावरणमैत्री निर्माण प्रविधिलाई समेत प्राथमिकता दिइएको छ। सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा पुनःप्रयोग, ऊर्जा बचत, फोहोर व्यवस्थापन र स्मार्ट प्रविधिसहितका समाधान प्रदर्शनीमा प्रस्तुत गरिनेछन्। डिजिटल स्ट्यान्डी, विद्युतीय कियोस्क, डिजिटल डिस्प्ले तथा भर्चुअल र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोगमार्फत प्रदर्शनीलाई कागजरहित बनाउने प्रयाससमेत गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा नेपालसँगै भारतबाट समेत व्यवसायी तथा कम्पनीको सहभागिता रहनेछ । १०० भन्दा बढी स्टलका लागि स्थान बुकिङ भइसकेको र प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरिएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा घर तथा जग्गासम्बन्धी जानकारीसँगै निर्माण सामग्री, प्रविधि, सुरक्षित आवास, वातावरणमैत्री निर्माण र व्यवस्थित बस्ती विकासका विषयलाई समेत प्राथमिकतामा राखिएको छ ।
आयोजकले घर निर्माण तथा जग्गा खरिदको तयारीमा रहेका सर्वसाधारण, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, लगानीकर्ता तथा आवास क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्