काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर तथा स्वयंसेवक परिचालन गर्न सडक डिभिजन काठमाडौँलाई सुझाव दिएका छन् ।
बुधबार सडक डिभिजन काठमाडौँद्वारा ‘सडक सुझाव’ मोबाइल एप शुभारम्भ कार्यक्रममा उनले सडक सुझाव एपलाई समस्या बटुल्ने माध्यमका रुपमा मात्र सिमित नराखी सक्रिय रूपमा सडकको अवस्था पहिचान गर्ने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताए ।
कर्मचारीमार्फत नियमित सडक निरीक्षण गर्दा लागत बढ्नसक्ने भन्दै नड्राइभ, पठाओलगायतका राइड सेयरिङ कम्पनीका चालकलाई सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सडक निरीक्षणमा परिचालन गर्न सकिने प्रश्ताव गरे ।
सांसद बमले चावहिलदेखि रिङरोडका निश्चित खण्डमा राइडर परिचालन गरी साप्ताहिक रूपमा सडकको अवस्थाबारे तथ्यांक संकलन गरी मर्मत कार्य गर्न सकिने बताए ।
उनले भने, “एपमा रिक्वेस्ट र कम्प्लेन मात्रै कुरेर बस्नु हुँदैन । प्रोएक्टिभ बेसिसमा जानुपर्छ । राइडरहरूलाई निश्चित सडक खण्डको जिम्मेवारी दिएर नियमित रूपमा सडकको अवस्था, खाल्डाखुल्डी र क्षतिको फोटो तथा विवरण पठाउने व्यवस्था गर्न सकिन्छ ।”
रास्वपा सांसद गणेश पराजुलीले एपमार्फत २४ सै घण्टा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम शुरु हुनु सकारात्मक शुरुवात भएको बताए ।
उनले एपमार्फत सडक सुधारको कार्यलाई थप प्रभावकारी बनाउन सांसद, सरकार र नागरिकको साझेदारी आवश्यक रहेको पनि उल्लेख गरे। काठमाडौँ उपत्यकाका निर्माणाधीन तथा बिग्रिएका सडकलाई शीघ्र पूर्णता दिनुपर्नेमा जोड दिए ।
उनले स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने सडक मर्मतमा संघीय सरकारले प्रत्यक्ष हस्तक्षेप गर्नुभन्दा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।
उनले भने, “बनाइसकेका सडकका खाल्डाखुल्डी पुर्ने र गुणस्तर कायम गर्ने कामलाई पनि तिब्रता दिनुपर्छ । यी काम एकैपटक अघि बढे मात्रै नागरिकले सरकारको कामको परिणाम महशुस गर्न सक्छन् ।”
उनले सबै तहको सरकारबीच आपसी समन्वय र सहकार्य गरी विकास निर्माणका कामलाई तिब्रता दिनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्