काठमाडाैँ । सडक डिभिजन काठमाडौँले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
एक कार्यक्रमका बिच डिभिजनले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरुलाई एपबारे ब्रिफिङ गराएको हो । एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्न व्यवस्था रहेको डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए ।
उनले उक्त एपको बिहीबार औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बताए । उनकाअनुसार समस्या रिपोर्ट गरिसकेपछि समस्या देखिएको स्थान एपले जीआईएस म्यापिङमार्फत पहिचान गर्नेछ ।
प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर स्थानसमेत निर्धारण गर्न सक्ने उनले बताए । देवकोटाले समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्ने उल्लेख गरे ।
काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालय यसअघि नै ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको गरिसकेको समेत जानकारी दिए । उनले सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तिब्रता दिएको दिएको बताए ।
उनले विस्तारै यो प्रणालीसँग भक्तपुर र ललितपुरलाई समेत जोडिने बताए ।


प्रतिक्रिया दिनुहोस्