काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा–भोटेकोशी क्षेत्रमा आएको पछिल्लो विपद्ले नेपालले पछिल्ला दुई दशकदेखि अघि बढाउँदै आएको विकास तथा समृद्धिको अवधारणामाथि पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले नेपालको बस्ती, सडक, उत्तर–दक्षिण करिडोर, जलविद्युत् र अन्तरदेशीय कनेक्टिभिटी प्रमुख नदी करिडोरमा आधारित रहेकाले जलवायु तथा विपद् जोखिमलाई समग्र विकास योजनासँग जोड्नुपर्ने बताए ।
उनले पछिल्लो हिमाली विपद्लाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै यसले विगत २०–२५ वर्षदेखि निर्माण हुँदै आएको नेपालको समृद्धिको ‘न्यारेटिभ’मै पुनर्विचार गर्नुपर्ने अवस्था ल्याएको बताए ।
खनालले अब बस्ती, ऊर्जा, सडक, कनेक्टिभिटी र लगानीलाई जलवायु तथा विपद् जोखिमसँग जोडेर नयाँ विकास मोडल बनाउनुपर्नेमा जोड दिए । साथै, बदलिँदो जलवायु जोखिमबीच नेपालले कसरी समृद्धि हासिल गर्ने र आवश्यक स्रोत कसरी जुटाउने भन्ने विषयमा सरकारको समग्र विकास सोच तथा विधायिकी प्राथमिकतामा पुनर्विचार आवश्यक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्