विभिन्न देशका लागि १३ जनाको नाम राजदूतमा सिफारिस


काठमाडौँ । नेपाल सरकारले विभिन्न देशका लागि १३ जना नयाँ राजदूत सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कूटनीतिक क्षेत्र तथा विभिन्न पेशागत पृष्ठभूमिका व्यक्तिहरूलाई विभिन्न मुलुकमा राजदूतका लागि सिफारिस गरेको हो ।

प्रस्तावित नामावलीअनुसार डा. निश्चलनाथ पाण्डेलाई भारतका लागि, डा. कल्याणराज शर्मालाई चीनका लागि तथा चिरनजंग थापालाई संयुक्त राज्य अमेरिकाका लागि राजदूत सिफारिस गरिएको छ ।

त्यसैगरी, पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणालाई संयुक्त अधिराज्य (यूके), जिग्यान कुमार थापालाई जापान, सुरेशकुमार कर्णलाई इजरायल, प्राप्ति शेरचनलाई स्पेन तथा शारू जोशीलाई जर्मनीका लागि प्रस्तावित गरिएको छ ।

यस्तै, डा. पद्माक्षी राणालाई ओमान, चूडामणि खरेललाई मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठलाई दक्षिण कोरिया, डा. मंचल झालाई श्रीलंका तथा गिरीबहादुर सुनारलाई साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरिएको छ । प्रस्तावित राजदूतहरूको नियुक्ति संसदीय सुनुवाइपछि हुनेछ ।