वालेन सरकार बनेयता मूल्यवृद्धि दर उच्च


काठमाडौँ।  गत फागनुमा आम निर्वाचन सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको करिब दुई तिहाइ जनमतसहित वालेन शाह सरकार गठन भएयता अर्थतन्त्रमा मूल्यवृद्धिको चाप उच्च बनेको तथ्याङ्कले देखाएको  छ।

अघिल्लो वर्षको साउन महिनामा १.६८ प्रतिशतमा सीमित रहेको मुद्रास्फीति वालेन सरकार गठन लगत्तैका महिनाहरूमा क्रमशः उकासिँदै गएको राष्ट्र बैंकको मासिक सूचकाङ्कले देखाउँछ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी पछिल्लो तथ्याङ्क अनुसार २०८३ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्रै रहेको थियो।

 नेपाल जीवनस्तर सर्वेक्षण चौथोमा आधारित रहेर ८७ वटा बजार केन्द्रहरूबाट ५२५ वटा उपभोग्य वस्तु तथा सेवाको मूल्य संकलन गरी तयार पारिएको आधार वर्ष २०८०/८१  को यो सूचकाङ्क अनुसार समीक्षा अवधिमा समग्र उपभोक्ता मूल्य सूचकाङ्क १११.२१ विन्दुमा पुगेको छ।

निर्वाचन पश्चात् बजारमा आपूर्ति व्यवस्थामा आएको गतिरोध, मध्यपश्चिमका युद्धका कारण आपूर्ति प्रणाली आएको उतारचढाव तथा उपभोग्य वस्तुको वितरण प्रणालीमा देखिएको असमञ्जस्यताका कारण समग्र महँगीको चाप बढेको राष्ट्र बैंकको आँकडाले देखाएको छ। 

२०८२ फागुनमा ३.६२ प्रतिशत रहेको मुद्रास्फीति शाहले औपचारिक रूपमा पदभार सम्हालेको चैत महिनामा बढेर ४.४७ प्रतिशत पुगेको थियो।   २०८३ वैशाखमा ५.०४ प्रतिशत पुगेको महँगीको दर जेठमा ५.२२ प्रतिशतको विन्दुमा उक्लिएको थियो भने असार महिनामा सामान्य गिरावट आउँदै ५.१४ प्रतिशतमा सीमित भए पनि साउन महिनामा पुनः बढेर ५.९६ प्रतिशतको उच्च विन्दुमा पुगेको हो।

साउनको मूल्यवृद्धि अनुपात हेर्दा कुल ३५.४९ प्रतिशत भार रहेको खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क ११०.४२ विन्दुमा पुगेको छ। यस समूह अन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सर्वाधिक १५.६२ प्रतिशतले बढेको छ। त्यसैगरी फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले बढेको छ। 

 खाद्य समूह अन्तर्गत सबैभन्दा बढी भार  ओगट्ने खाद्यान्न तथा खाद्यान्नजन्य वस्तुहरूको सूचकाङ्क १०७.९७ विन्दुमा पुगेको छ। यस उपसमूहमा अघिल्लो वर्षको तुलनामा ३.०८ प्रतिशत र असारको तुलनामा २.३९ प्रतिशतको वृद्धि भएको छ। , जसले गर्दा सर्वसाधारणको भान्सा र दैनिक उपभोग्य वस्तुको लागत उल्लेख्य रूपमा बढेको छ। 

समीक्षा अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१८ प्रतिशतले र सहरी क्षेत्रको ५.८८ प्रतिशतले बढेको छ। प्रादेशिक आधारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी मधेश प्रदेशमा ६.९४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत रहेको छ।

त्यस्तै भौगोलिक क्षेत्रका आधारमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८१ प्रतिशत, तराईको ६.६४ प्रतिशत, पहाडको ५.९५ प्रतिशत र हिमालको ५.१० प्रतिशत रहेको छ।

उपभोक्ता मूल्यका साथै थोक मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। २०८३ साउन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.२७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा २.३७ प्रतिशत मात्र रहेको थियो।