नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता विवाद प्रदेशसम्म फैलियो,बीमा प्राधिकरण निरीह


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा अभिकर्ता विवाद केन्द्र हुँदै प्रदेशमा पुगेको छ । कम्पनीले बीमा अभिकर्ता सङ्घमध्ये एउटालाई मात्रै ‘काखी च्यापेको’ भन्दै सुरु भएको विवाद फैलदै प्रदेशसम्म पुगेको हो ।

यो विवादमा नेपाल बीमा प्राधिकरण भने निरिह बनेको छ । क्रियाशील दुबै संस्थालाई मान्यता दिनुपर्नेमा कम्पनीले नेपाल लाइफले एउटालाई मात्रै मान्यता दिएको र अर्को संस्थालाई निरन्तर विभेद गरेको भन्दै विवाद सुरु भएको थियो । यसै विषयलाई लिएर काठमाडौँमा प्रर्दशन र पत्रकारसम्मेलनसमेत भएको थियो । यो विवाद अब प्रदेशमा पुगेको छ । यो बिचमा प्राधिकरणले दुबै संस्थालाई समान व्यवहार गर्न निर्देशन दिए पनि नेपाल लाइफले अटेरी गरेको छ । प्राधिकरणले यो विषय समाधान गर्नुपर्ने भए पनि एउटा कम्पनी सामु निरीह बनेको टिप्पणी भएको छ ।

भएको के हो ?
कम्पनी अन्तर्गत पेशागत बीमा अभिकर्ता सङ्घ,नेपाल र नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घ क्रियाशील छन् । नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घमा आवद्ध पदाधिकारी तथा सदस्यले आफूमाथि कम्पनीले विभेद गरेको आरोप लगाउँदै आएका छन् ।

कम्पनीले पेशागत बीमा अभिकर्ता सङ्घलाई मात्रै औपचारिक कार्यक्रमहरूमा सहभागि गराउने र आफूलाई विभेद गरेर कुनै कार्यक्रममा सहभागि नगराएको भन्दै काठमाडौँमा भदौ पहिलो हप्ता भएको अभिकर्ता लिडरसिप एक्सिलेन्ट अवार्ड कार्यक्रममा प्रर्दशन गरेका थिए । प्रर्दशन गरेपछि प्रहरीले हस्तक्षेपसमेत गरेको थियो । यो विवाद बीमा प्राधिकरणमा पुग्यो ।

प्राधिकरणमा कम्पनी र नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घबिच पटकपटक छलफल भयो । प्राधिकरणले क्रियाशील सङ्घहरूलाई विभेद नगर्न नेपाल लाइफ इन्स्योरेन्सलाई निर्देशन दिए पनि बेवास्था गरेको देखिएको छ । कानुनी तथा वैधानिक हिसाबले कम्पनीले क्रियाशील सङ्घलाई विभेद गर्न नपाउने स्पष्ट व्यवस्था भए पनि प्राधिकरण र यसको नेतृत्व निरीह देखिएको सङ्घको गुनासो छ ।

सङ्घका एक पदाधिकारीले भने,“ एउटा कम्पनी सामु नियामक निकाय निरिह देखिएको जस्तो लागेको छ । हामी यसबाट अचम्मित छौँ । यसमा विषयमा प्राधिकरणले प्रष्ट एक्सन लिन सक्छ तर के भएको हो थाहा छैन ।” प्राधिकरणको सम्बन्धित विभाग र नेतृत्वले कम्पनी र सङ्घलाई बोलाएर छलफल गर्दा पनि समाधान ननिस्किएपछि विवाद थप जटिल बनेको छ ।

प्रदेशसम्म सर्‍याे विवाद

नेपाल लाइफ इन्स्योरेन्सले असोज ४ गते आइतबारदेखि लगातार १३ गतेसम्म कोशी प्रदेशमा कार्यक्रम गर्दै छ । प्रदेशस्तरीय सम्मान तथा तालिम कार्यक्रमहरूमा नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घलाई निम्तो गरिएको छैन ।

यस विषयमा नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोशी प्रदेश समितिले कम्पनीका कार्यक्रम तथा गतिविधिमा अभिकर्तामाथि कुनै प्रकारको विभेद, निषेध वा अपमानजनक व्यवहार नगर्न व्यवस्थापनलाई आग्रह गर्दै ध्याकर्षण पत्र बुझाएको छ भने बीमा प्राधिकरणलाई समेत जानकारी गराएको छ ।

समितिले कम्पनी र अभिकर्ताबिचको सम्बन्धलाई थप सुदृढ बनाउन आग्रहसमेत गरेको छ ।

पत्रमा असोज ४ गते आयोजना हुने राष्ट्रिय कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन प्रदेश प्रमुखको मुख्य भूमिका रहने उल्लेख गर्दै कार्यक्रम सञ्चालनका क्रममा कुनै पनि अभिकर्तामाथि विभेद नगरिनुपर्ने धारणा व्यक्त गरिएको छ ।

पत्रमा भनिएको छ,“कम्पनी र अभिकर्ताबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन हाम्रो समिति सधैं सहकार्य गर्न तत्पर रहनेछ । कम्पनीले गर्ने जुनसुकै कार्यक्रममा अभिकर्तालाई साङ्गठनिक रूपमा कुनै विभेद,अपमान र असम्मान नगरियोस् भन्नेमा हाम्रो विशेष ध्यानाकर्षण भएको छ ।”

समितिले अभिकर्ताहरूको आत्मसम्मानमा चोट पुग्ने गतिविधिले संस्थाभित्र दूरी र द्वन्द्व बढ्न सक्ने चेतावनी समेत दिएको छ ।

पत्रमा उल्लेख छ,“कम्पनी व्यवस्थापनले गर्ने साङ्गठनिक विभेद र निषेधजस्ता गतिविधिले हजारौं अभिकर्ताको आत्मसम्मानमा आघात पुग्ने, सङ्घ र व्यवस्थापनबिच दूरी बढ्ने तथा त्यसको प्रत्यक्ष असर कम्पनीको आगामी कार्यक्रम र बीमा व्यवसायमा पर्न जाने भएकाले यसको जिम्मेवारी व्यवस्थापनले नै लिनुपर्ने हुन्छ ।”

नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घ, कोशी प्रदेश समितिका अध्यक्ष टिकाराम उप्रेती र सचिव नेत्रप्रसाद प्रसाईँद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घको केन्द्रीय कार्यालय तथा नेपाल बीमा प्राधिकरणलाई समेत पठाइएको छ ।

ध्याकर्षणकाबिच पनि कार्यक्रमको पूर्वसन्ध्यासम्म कुनै औचारिक निम्तो नआएको सङ्घले बताएको छ । आफूहरूलाई विभेद गरे विरोधमा उत्रने सङ्घले जनाएको छ ।

कोशी प्रदेशमा हुने कार्यक्रममा कम्पनी निकट समूहले प्रतिकारको तयारी गर्न सर्कुलरसमेत गरेको छ । यसले कार्यक्रम भिडन्तउन्मुखको जोखिमसमेत देखिएको छ ।