होस्टेल एसोसिएसनद्वारा उद्योग वाणिज्य महासङ्घको विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा


काठमाडौँ । नेपाल होस्टेल एसोसिएसनले नेपाल उद्योग वाणिज्य महासङ्घको विपद् व्यवस्थापन कोषमा सहयोग रकम रकम जम्मा गरेको छ ।

एसोसिएसनका अध्यक्ष नरेन्द्र बोहराले २ लाख ७७ हजार ४ सय १२ रुपैयाँको चेक नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, सामाजिक सेवा,विपद् तथा दैवी प्रकोप समितिका सभापति राजकुमार कार्की, नेपाल होस्टल एसोसिएसनका पदाधिकारी तथा ललितपुर जिल्ला अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

महासङ्घका अध्यक्ष श्रेष्ठले होस्टेल एसोसिएसनको सहयोगप्रति आभार व्यक्त गरे । उनले सबै सदस्यहरूको सहयोगले महासङ्घको विपद् कोषलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए ।

विपद् व्यवस्थापन समितिका सभापति कार्कीले एसोसिएनको सहयोगले विपद्मा परेका उद्योग व्यवसायीहरूको पुनस्र्थापनाका लागि ठुलो राहत पुग्ने विश्वास व्यक्त गरे । जिल्ला कार्यसमिति, होस्टेल व्यवसायी, केन्द्रीय समितिका पदाधिकारी,सल्लाहकार तथा सहस्यले स्वेच्छिक रुपमा जम्मा गरेको रुपैयाँ महासङ्घको कोषमा हस्तान्तरण गरिएको अध्यक्ष बोहराले जानकारी दिए ।

सङ्कलित रकममध्ये रुपन्देही जिल्ला कार्यसमितिबाट रु. ६६ हजार ६६०, कास्की जिल्ला कार्यसमितिबाट रु. ५ हजार ५५५, ललितपुर जिल्ला कार्यसमितिबाट रु. १ लाख ३३ हजार ५८७ र केन्द्रीय कार्यसमितिबाट रु. ७१ हजार ६१० रहेको छ। यसरी कुल रु. २ लाख ७७ हजार ४१२ रुपैयाँ रहेको एसोसिएसनले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले २०८३ भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि राहत तथा आर्थिक सहयोग सङ्कलन गर्न आफ्ना सदस्य जिल्ला/नगर उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ्घ, एसोसिएट तथा द्विराष्ट्रिय सङ्घहरू एवं सम्पूर्ण उद्यमी–व्यवसायीहरूलाई सहयोग गर्न आग्रह गरेको थियो ।

महासङ्घको आह्वानलाई आत्मसात गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत सङ्घ सदस्यसमेत रहेको एसोसिएनले सहयोग रकम हस्तान्तरण गरेको अध्यक्ष बोहराले जानकारी दिए ।

बोहरा महासङ्घको सामाजिक सेवा,विपद् तथा दैवी प्रकोप समितिको सदस्यसमेत हुन् । उनले भने,“नेपाल होस्टल एसोेसिएसनले सामाजिक उत्तरदायित्व तथा मानवीय दायित्व अनुरूप बाढी प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि सङ्कलन गरेको सहयोग रकम हस्तान्तरण गरेका छौँ ।”

अध्यक्ष बोहराले विपद्को समयमा सामाजिक उत्तरदायित्व र मानवीय दायित्वप्रति संस्थागत ऐक्यबद्धता तथा सहभागिता महत्वपूर्ण हुने बताए ।

उनले सहयोग अभियानमा सहभागी हुने सम्पूर्ण जिल्ला कार्यसमिति, होस्टल व्यवसायी, केन्द्रीय पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूप्रति आभार व्यक्त गरे ।

नेपाल होस्टल एसोसिएसनले विपद्का समयमा सरकार, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा संघसंस्थाबिचको सहकार्य र समन्वयलाई निरन्तरता दिने जनाएको छ ।