काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो । सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि आठ प्रतिशत लाभांश समेत पारित गरेको छ ।
साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको चुक्ता पुँजी रू. ३३ अर्ब ४० करोड नाघेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले रू. ७ अर्ब ९१ करोड खुद मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप दायित्व रू. ६९ अर्ब ६७ करोड अर्थात् १३.०६ प्रतिशतले बढेर रू. ६ खर्ब २ अर्ब ९३ करोड पुगेको जनाएको छ ।
साथै सोही अवधिमा कर्जा तथा सापटी रू. ५१ अर्ब ६८ करोड अर्थात् १२.१५ प्रतिशतले बढेर रू. ४ खर्ब ७६ अर्ब ८७ करोड पुगेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वासलातको आकार १५.३८ प्रतिशतले बढेर रू. ७ खर्ब ३४ अर्ब ७६ करोड पुगेको छ ।
सभामा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले नबिल बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । बैंक देश, समाज, शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर काम गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको अध्यक्ष चौधरीले उल्लेख गरे ।
नबिल बैंक स्थापना गर्दाको चुक्ता पुँजी हाल ९६० गुणाले वृद्धि भएको जनाइएको छ । साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।


प्रतिक्रिया दिनुहोस्