तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय


काठमाडाैँ । तातोपानी–झाङ्मु र लिजी–कोराला नाका सुचारु गर्न चीनसँग आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल–चीनबिचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको बताए ।

गत १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका बन्द भएको थियो । नाका बन्द हुँदा नेपाल–चीनबिचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको छ ।

प्रवक्ता क्षेत्रीले सरकारले विदेशमा रहेका नेपालको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र दस्तावेज स्वदेश फिर्ता ल्याउने तथा संरक्षण र प्रवद्र्धन गर्ने कामलाई पनि अघि बढाएको बताए ।

सोहीअनुसार जर्मन नागरिक स्वर्गीय जोसेफ पिटर रिन्फ्लाइजको निजी संग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सय भन्दा बढी लिखित दस्तावेज नेपाललाई हस्तान्तरण गरिएको जानकारी दिए ।

उनले क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरूमा नेपालको सहभागिता, नेतृत्व र प्रतिनिधित्वलाई राष्ट्रिय हितअनुकूल बनाउँदै आपसी हित प्रवद्र्धन गर्ने कामलाई समेत अघि बढाइएको बताए । 

उनले परराष्ट्रमन्त्री शिशिर खनालको अष्टे«लिया भ्रमणबारे समेत जानकारी गराए ।