मकवानपुर । दसैँको खुसी विपन्न समुदायसँग बाँड्ने उद्देश्यले मकवानपुरको कैलाश गाउँपालिकाका १०० चेपाङ परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ।
‘यो दसैँ, आफ्नो खुसीसँगै अरूको घरमा पनि खुसी बाँडौँ’ भन्ने नारासहित कैलाश गाउँपालिकाअन्तर्गत भाल्टर, कालिकाटार र खिर्गी क्षेत्रका चेपाङ बस्तीमा सहयोग कार्यक्रम सञ्चालन गरिएको हो।
रणजित पोदार, बालकृष्ण भट्टराई, देवेन्द्र भुसाल, निरज भुसालसमेतकाे पहलमा सञ्चालन गरिएको कार्यक्रममा सहयोगी हातहरू (सिडिपिएन) तथा विभिन्न साथीहरूले आर्थिक, भौतिक र अन्य सहयोग गरेका थिए। उनीहरूको सहयोगबाट खाद्यान्न तथा आवश्यक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो।

सहयाेग गर्ने अभियानअन्तर्गत परिवारहरूलाई चामल, दाल, तेल, चिनी, चिउरा, चना, आलु, साबुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका लागि आर्थिक सहयोग संकलन गर्नेदेखि अन्य व्यवस्थापनमा साथ दिने सबै सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

विभिन्न क्षेत्रमा सक्रिय साथीहरूकाे सहकार्यमा हरेक वर्ष यस्ता सामाजिक कार्य गर्ने गरिएकाे रणजित पाेदारले बताए । “सिडिपिएनकाे केही सहयाेग रहेकाे छ भने हामी अन्य साथीहरूले व्यक्तिगत रूपमा थप नगद तथा जिन्सी संकलन गरेर चेपाङ परिवारलाइ वितरण गरेका हाैँ,” उनले भने ।
विशेषगरी साथीभाइ तथा सहयोगीहरूको साथ र सद्भावले विपन्न परिवारसँग दसैँको खुसी बाँड्न सम्भव भएको आयोजकको भनाइ छ।
आयोजकका अनुसार यस अभियानले आर्थिक रूपमा कमजोर परिवारलाई चाडपर्व मनाउन सहयोग पुर्याउनुका साथै समुदायमा आपसी सद्भाव, सहयोग र मानवीय भावनालाई थप बलियो बनाउने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस्