पृथ्वी राजमार्ग आज राति ६ घण्टा सवारी आवागमन बन्द हुने


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएपछि उक्त सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै असोज २६ गते राति ११ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्ने जनाएको छ।

त्रिशूली नदीको कटानका कारण गलौंदी क्षेत्रमा सडक भासिएपछि उक्त सडकखण्डमा मर्मतसम्भार गरी दुवैतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो। थप मर्मतसम्भार गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सवारी आवागमन बन्द रहने अवधिमा यात्रु तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन र सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

सडक अवरुद्ध हुँदा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै प्रशासनले आवश्यक सहयोग तथा समन्वयका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ।