इजरायलको संसदीय निर्वाचनमा कसैको स्पष्ट बहुमत नआउने, नेतान्याहु र प्रमुख प्रतिद्वन्द्वी बहुमतभन्दा टाढा


काठमाडौँ । इजरायलको संसदीय निर्वाचनमा कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गर्न नसकेको प्रारम्भिक ‘एक्जिट पोलहरू’ले देखाएका छन् । हालका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रमुख प्रतिद्वन्द्वी तथा पूर्व सैनिक प्रमुख गादी आइजेनकोट नेतृत्वको गठबन्धन दुवै बहुमतभन्दा टाढा देखिएका छन् ।

सन् १९९९ पछिकै सबैभन्दा उच्च मतदान भएको भनिएको यस निर्वाचनमा नेतान्याहुको दक्षिणपन्थी गठबन्धन अग्रस्थानमा रहे पनि सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्ने सम्भावना कमजोर देखिएको छ । इजरायली सञ्चारमाध्यम च्यानल १२ न्यूजका अनुसार नेतान्याहुको गठबन्धनले अघिल्लो संसदमा रहेको ६८ सिटबाट घटेर ५२ सिटमा सीमित हुन सक्छ । आइजेनकोट नेतृत्वको गठबन्धनले ४९ सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।

निर्वाचनपछि अरब राजनीतिक दलहरूले भने खुशी व्यक्त गरेका छन् । एक्जिट पोलले उनीहरूको प्रतिनिधित्व अहिलेसम्मकै उच्च स्तरमा पुग्ने सङ्केत गरेपछि ती दलहरूले यसलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।

प्रारम्भिक नतिजाप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री नेतान्याहुले आफ्नो दक्षिणपन्थी गठबन्धनलाई “जायोनिष्ट र यहुदी समुदायको निर्णायक बहुमतको समर्थन“ रहेको दाबी गरेका छन् । उनले अरब दलहरूलाई “जायोनिष्ट विरोधी“ भन्दै सरकार गठनका लागि उनीहरूसँग सहकार्य गर्ने सम्भावना अस्वीकार गरेका छन् ।

अन्तिम मतपरिणाम आगामी ४८ घण्टाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ। त्यसपछि सरकार गठनका लागि गठबन्धन निर्माण प्रक्रिया सुरु हुनेछ, जसले केही दिनदेखि केही सातासम्म समय लिन सक्ने अनुमान गरिएको छ ।

स्पष्ट बहुमत नआएको अवस्थामा अल्पमत सरकार, राष्ट्रिय एकता सरकार वा पुनः निर्वाचनसम्मका विकल्पहरू खुला रहने विश्लेषण गरिएको छ ।