चीन-पाकिस्तान सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ‘इन्फर्मेसन करिडोर’ को शुरुवात


काठमाडाैँ । इस्लामाबादमा सोमबार आयोजित एक विशेष समारोहका बीच चीन र पाकिस्तानले ‘चीन–पाकिस्तान इन्फर्मेसन करिडोर’को औपचारिक शुरुवात गरेका छन् ।

दुई देशबिचको सञ्चार, तथ्य–जाँच (फ्याक्ट–चेकिङ), अनुसन्धान तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले शुरु गरिएको यो पहलले आर्थिक सहकार्यलाई जनस्तरसम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।

पाकिस्तानका सूचना तथा प्रशारण मन्त्री अत्ताउल्लाह तरार, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता तथा प्रेस, सञ्चार र सार्वजनिक कूटनीति विभागका महानिर्देशक माओ निङ र पाकिस्तानका लागि चिनियाँ राजदुत जियाङ जाइदङले संयुक्त रूपमा उद्घाटन गरेको सो कार्यक्रममा ६०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

सम्बोधनका क्रममा मन्त्री तरारले चीन–पाकिस्तान आर्थिक करिडोरले दुई देशको अर्थतन्त्रलाई जोडेको स्मरण गर्दै ‘इन्फर्मेसन करिडोर’ले जनस्तरमा सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरे ।

उनले यो पहलले मिडिया सहकार्य, तथ्य–जाँचमार्फत गलत सूचनाको नियन्त्रण, व्यावसायिक सञ्जालको विस्तार, बौद्धिक आदानप्रदान र पर्यटन प्रवद्र्धनमा जोड दिने स्पष्ट पारे । 

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीन र पाकिस्तानलाई ‘सबै मौसमका रणनीतिक साझेदार’को संज्ञा दिँदै कथाहरूले जनताको सोच र व्यवहार बदल्न सक्ने बताए । उनले भने, “यो करिडोरले दुई देशबीचको सहयोगलाई जनस्तरसम्म पु¥याउन र जनताका हृदयलाई जोड्ने पुलको रूपमा काम गर्नेछ ।”

राजदुत जियाङ जाइदङले विभिन्न निकायहरूको कडा परिश्रम र समन्वयले यो अवधारणा साकार भएको भन्दै दुई देशको विकास र साझा भविष्यको कथालाई अझ प्रभावकारी रूपमा सम्प्रेषण गर्न मद्दत पुग्ने बताइन् । 

कार्यक्रममा दुवै देशको कला, संस्कृति र खानपानलाई विशेष महत्वका साथ प्रदर्शन गरिएको थियो। सांस्कृतिक कार्यक्रममार्फत दुई राष्ट्रबिचको परम्परागत मित्रतालाई थप जीवन्त बनाउने प्रयास गरिएको थियो ।