नेशनल सोलारसँगको भुक्तानी विवादमा थप कागजात पेस गर्न आयोगको प्राधिकरणलाई आदेश


काठमाडौँ । विद्युत् नियमन आयोगले नेपाल विद्युत प्राधिकरण र नेशनल सोलार पावर कम्पनी प्रालिबिच भएको विद्युत् खरिद बिक्री तथा भुक्तानी सम्बन्धी विवादमा थप कागजात र प्रमाण पेस गर्न आदेश दिएको छ ।

आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल,सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक तथा बलराम सिलवालको इजलासले ‘विवादमा आवश्यक प्राविधिक मूल्याङ्कनको लागि’ भन्दै बाटोको म्यादबाहेक १५ दिनभित्र सक्कल कागजात र विवरणहरू पेश गर्न नेपाल विद्युत प्राधिकरणलाई आज आदेश दिएको हो ।

इजलासले सौर्य ऊर्जा आयोजना निर्माणका लागि प्राधिकरणद्वारा जारी गरिएकोे आव्हानपत्र उपर निवेदक कम्पनीले प्राधिकरणसमक्ष पेश गरेको प्रस्तावको सक्कलप्रति,आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्मको अवधिमा उक्त आयोजनाले उपलब्ध गराएको ऊर्जा मिटरमा देखिएको ऊर्जा युनिट(किलोवाट) को प्रमाणिक तथ्याङ्क उपलब्ध गराउन आदेश दिएको छ ।

यस्तै बिल विश्लेषणबाट गरिएको भिजिएफको भुक्तानी उपलब्ध नगराउने सम्बन्धी निर्णय सो सम्बन्धित विवरण, आर्थिक वर्ष २०७९/८१ सम्मको क्षमता उपयोग कारक(सियुएफ) गणनाको विधि तथा सोही बमोजिम भुक्तानी गर्दा लिइएको आधार र कारण सम्बन्धी विवरणको सक्कल प्रति, निवेदनक र प्रत्ययर्थीबिच भएको विद्युत खरिदबिक्री सम्झौता(हालसम्मको संसोधन) समेतको सक्कल प्रति र व्यवहार्यता अन्तर अनुदानको प्रत्याभूति सम्बन्धी सम्झौता तथा तत्पश्चातका संसोधनको समेत सक्कल प्रति आयोगले माग गरेको हो ।

प्राधिकरणले सम्झौताअनुसार बिल बमोजिम पाउनुपर्ने तथा सम्झौता विपरित हर्जाना स्वरुप कट्टा गरेको रकमहरू तथा क्षतिपूर्ति दिलाउन माग गर्दै नेशनल सोलार पावर आयोग पुगेको हो ।