भारतद्वारा सौर्य उत्पादन शृङ्खला संरचनामा ठुलो लगानी, उपकरण आयात ९५ प्रतिशतभन्दा बढी घटाउने लक्ष्य


काठमाडौँ । भारतले सौर्य उपकरणमा हुने वार्षिक ४.४ अर्ब अमेरिकी डलर बराबरको आयात खर्चलाई आगामी दुई दशकभित्र ९५ प्रतिशतभन्दा बढीले घटाउन सक्ने प्रक्षेपण गरिएको छ । यससँगै स्वदेशी सौर्य उत्पादन उद्योगमा ८९ अर्ब डलर लगानी भित्रिने र ३२.३ लाख रोजगारी सिर्जना हुने अनुमान छ ।

भारतीय सौर्य उर्जा उत्पादक सङ्का अनुसार यदि सरकारी नीतिगत समर्थन निरन्तर रह्यो र स्वदेशी उत्पादन क्षमता सौर्य प्यानलबाट अघि बढेर सौर्य सेल, वेफर र पोलिसिलिकन सम्म विस्तार गर्न सकियो भने सन् २०४० को प्रारम्भसम्म यो आयात खर्च ९५ प्रतिशतभन्दा बढीले घट्न सक्ने अनुमान छ ।

मंगलबार सार्वजनिक गरिएको ‘सोलार म्यानुफ्याक्चरिङ भिजन २०४७’ प्रतिवेदनअनुसार स्वदेशी सौर्य उत्पादन उद्योगको विस्तारले सन् २०४७ सम्म करिब ८९ अर्ब अमेरिकी डलर बराबरको लगानी आकर्षित गर्न सक्नेछ। साथै यस क्षेत्रबाट ३२.३ लाख रोजगारी सिर्जना हुने प्रक्षेपण पनि गरिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२७ देखि २०४७ सम्म नयाँ सौर्य उत्पादन केन्द्र (म्यानुफ्याक्चरिङ प्लान्ट) स्थापना गर्न वार्षिक औसत ४.३ अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्नेछ। प्रस्तावित कुल लगानीमध्ये करिब ७० प्रतिशत हिस्सा सौर्य सेल, इन्गट, वेफर र पोलिसिलिकन उत्पादन मा खर्च हुने अनुमान गरिएको छ, जहाँ भारतको स्वदेशी उत्पादन क्षमता अझै विकासकै चरणमा रहेको छ।

हाल भारतसँग २३३ गिगावाटभन्दा बढी सौर्य मोड्युल उत्पादन क्षमता र ५० गिगावाटभन्दा बढी सौर्य सेल उत्पादन क्षमता रहेको छ । देशका पहिलो इन्गट र वेफर उत्पादन केन्द्रहरू सञ्चालनमा आइसकेका छन् भने पोलिसिलिकन उत्पादन केन्द्रहरू निर्माणको चरणमा रहेका छन् ।
प्रतिवेदनले सौर्य उत्पादन उद्योगसँग सम्बन्धित रोजगारी हालको करिब ४ लाख बाट बढेर सन् २०३० सम्म ७.४ लाख र सन् २०४७ सम्म ३२.३ लाख पुग्ने प्रक्षेपण गरेको छ ।

त्यसैगरी, सौर्य कारखानामै प्रत्यक्ष रूपमा सिर्जना हुने रोजगारी सङ्ख्या हालको १.४ लाख बाट बढेर सन् २०४७ सम्म ११.१ लाख पुग्ने अनुमान गरिएको छ।

यो तथ्याङ्कअनुसार भारतले सौर्य उत्पादन शृङ्खलाको सम्पूर्ण संरचना स्वदेशमै विकास गर्न ठुलो लगानी गर्दैछ, जसबाट आयातमा निर्भरता घट्नुका साथै लाखौं रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।