काठमाडौँ। नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीको मेडालियन एक–एक थानका दरले बिक्री गरिनेछ । चाँदीका मेडालियनमा लक्ष्मी र गणेश अंकित हुनेछन् । एक व्यक्तिले बढीमा दुई थानसम्म मात्र खरिद गर्न सक्ने सूचनामा उल्लेख छ ।
सुनको असर्फी तथा चाँदीका मेडालियन कात्तिक १९ र २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिने जनाइएकाे छ । बिक्री मौज्दात कायम रहेसम्म मात्र जारी रहने राष्ट्र बैंकले जनाएको छ ।
खरिद गर्न चाहने व्यक्ति नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका अनुसार सुनको असर्फी तथा मेडालियनको मूल्य बिहान करिब ११ बजेपछि निर्धारण हुनेछ । मूल्य निर्धारण भएपछि मात्र बिक्री प्रक्रिया सुरु गरिने सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकको टक्सार महाशाखाले बबरमहलबाट बिक्री गर्ने सुनको असर्फी तथा चाँदीका मेडालियन तिहारको अवसरमा लक्ष्मीपूजा र धनतेरसका लागि खरिद गर्नेहरूलाई लक्षित छन् ।


प्रतिक्रिया दिनुहोस्