काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता बढाउन डिजिटल सेवा सुरु गरेको छ । बोर्डले प्रदेश तथा स्थानीय तहबाटै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गर्न र नवीकरण गर्न सकिने डिजिटल सेवा सुरु गरेको हो।
बोर्डले आधिकारिक पोर्टलमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर र कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरिएको छ।
नयाँ प्रणालीमार्फत प्रदेश तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट नागरिकको सामूहिक दर्ता, नवीकरण, योगदान रकम भुक्तानी तथा अभिलेख व्यवस्थापन गर्न सक्नेछन्। यसले दर्ता प्रक्रियालाई सहज, पारदर्शी र छिटो बनाउने बोर्डको अपेक्षा छ।
बोर्डका प्रवक्ता डा. पवनकुमार साहले डिजिटल प्रणालीले दर्ता प्रक्रियामा लाग्ने समय घटाउनुका साथै सेवा व्यवस्थित र प्रविधिमैत्री बनाउने बताएका छन्।
बोर्डले यस प्रणालीको प्रयोग गरी नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सबै प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्