मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको आडमा मुलुक ‘सर्वसत्तावाद’ तर्फ उन्मुख भएको बताएका छन् ।

बुधबार पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधि र कानूनभन्दा आदेश र लहरका भरमा राज्य सञ्चालन भइरहेको आरोप लगाएका हुन् ।

अध्यक्ष लिङदेनले पछिल्लो समय सरकारी निकायहरूमा भइरहेका विवादास्पद निर्णय र कर्मचारी सरुवालाई सरकारको स्वेच्छाचारी चरित्रको संज्ञा दिए ।

उनले विशेषगरी सुनकोशी मरिण डाइभर्सन आयोजना र राहदानी विभागका घटनाहरूमा राज्यको भुमिका शङ्कास्पद रहेको औंल्याए । पक्राउ गरिएका अधिकारीहरूलाई कुन सम्झौताका आधारमा मुक्त गरियो भनी प्रश्न गर्दै उहाँले यसको जवाफदेहिता सरकारले लिनुपर्ने बताए ।

१६ अर्बको टेण्डर प्रक्रिया रद्ध गर्दा राज्यलाई भएको घाटा वा फाइदाका बारेमा सरकार मौन रहनुले भ्रष्टाचारको जालो बलियो भएको उनको दाबी छ । 

लिङदेनले मुलुकको राजनीतिमा नेता, कर्मचारी, व्यापारी र विचौलियाको गठजोडले राज्य संयन्त्रलाई वन्धक बनाएको पुरानो आरोप दोहो¥याए । अदालतलगायतका संवैधानिक निकायहरूमा भइरहेका पछिल्ला घटनाक्रमले आफूहरूको दाबीलाई पुष्टि गरेको उनले जिकिर गरे । वर्तमान सरकार पनि विगतकै बाटो पछ्याउँदै सुधारको सट्टा विवादमा फसेको उनको भनाइ छ ।

आफ्नो पार्टीभित्रको अवस्थाबारे बोल्दै उनले राष्ट्रिय स्वार्थभन्दा माथि उठ्न कार्यकर्तालाई आग्रह गरे ।

विगतमा सत्ता र व्यावसायिक स्वार्थका लागि राप्रपाको प्रयोग भएको स्वीकार गर्दै उनले अब हुने महाधिवेशनबाट पार्टीलाई ‘सुध्रिएको र परिवर्तित’ बनाएर जनतामा लैजानुपर्ने आवश्यकता औंल्याए ।