इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर तथा डिजिटल पार्टनरसीप सम्झौता


काठमाडौं । डिजिटल भुत्तानी सेवा प्रदायक संस्था इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल साझेदारका लागि सम्झौता भएको छ ।

आज पोखरामा एक कार्यक्रमकाबीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एशोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरीप्रसाद भट्टराईले गरेका हुन् । कार्यक्रममा भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पु¥याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले प्रोत्साहन गरिरहेको बताए ।

सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने भनाई राखेका थिए ।

इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले संघले संचालन गरेको जाउँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल शहरका रूपमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट पूर्ण सहयोग रहने बताए ।

अहिले इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या लगभग ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा लगभग एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।