दूग्धजन्य पदार्थ ढुवानीका लागि छुट्टै लोगो प्रयोग हुँदै,सार्वजनिक गर्ने अन्तिम तयारी


काठमाडौं । नेपालमा दूग्धजन्य पदार्थ ढुवानीलाई सहज बनाउन छुट्टै लोगो प्रयोग हुने भएको छ ।

लोगो प्रयोगपछि दूध तथा दुग्धजन्य पदार्थ बोक्ने गाडीहरू निर्वाध रुपमा चल्न पाउने छन् । दुग्ध विकास बोर्डले लोगो छनौट गरेर सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

बन्द हडताल तथा प्राकृतिक संकटलगायतका समयमा ढुवानीमा समस्या देखिने गरेको गुनासो बढिरहेपछि ‘एम्बुलेन्सकै शैली’मा सञ्चालन हुने गरेर लोगो प्रयोगमा ल्याउन लागिरहेको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले जानकारी दिए ।

ढुवानीका बेला दूधलाई निश्चित समयभित्र निश्चित तापक्रममा निश्चित ठाउँमा पुराइसक्नुपर्छ तर बन्द हडताल वा बाटो अवरोध हुँदा व्यवसायीहरूले समस्या भोग्दै आएका थिए ।

कार्यकारी निर्देशक यादवले भने,“ दुग्धजन्य पदार्थ ढुवानी गर्दा पटक पटक समस्या देखियो । जसका कारण किसानले दूध उपलब्ध गराउने तर त्यसको पूर्ण रुपमा प्रयोग नहुँने र बोटोमै बिग्रने अवस्था भएपछि हामीले नयाँ अवधारणा सुरु गरेका हौं । यो दूध ढुवानीमा गर्न लागिएको विश्वकै नयाँ अवधारणा  हो ।

२०७६ चैत ११ गतेको मन्त्रीपरिषद् बैठकले दूधलाई अत्यावश्यकीय वस्तुको रुपमा राखेको थियो । तरपनि बन्द हडताल वा अन्य समस्याका क्रममा दूध ढुवानीको समस्या देखिएको बोर्डको भनाई छ । सुरक्षा निकायले समेत दूधका गाडीलाई अवरोध गर्ने गरेको देखिएको कार्यकारी निर्देशक यादवको भनाई थियो ।

समस्या यथावत रहेपछि बोर्डले लोगो प्रयोगमा ल्याउने निर्णय गरेको हो । बोर्डले सूचना निकालेर माग गरेपछि प्रतिस्प्रधामा आएका २८ वटा मध्य उत्कृृष्ट लोगो छनौट गरिएको उनले बताए ।

कार्यकारी निर्देशक यादवले भने,“बोर्डको गते फागुन १५ गतेको १११ औं कार्यकारीणी बैठकबाट लोगा पारित भएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय,आर्ट काउन्सिल र बोर्डका प्रतिनिधि बसेर लोगो छनौट गरेका छौं ।”

लोगो प्रयोगसम्बन्धि कार्यविधि पनि अन्तिम चरणमा रहेको र पारित हुन बाँकी रहेको यादवको भनाई छ ।

उनले लुम्बिन सञ्चारसँग भने, यो लोगोको प्रयोगपछि बन्द,हडताल वा अन्य कुनै कारणले दुग्धजन्य पदार्थ ढुवानीमा अवरोध हुने छैन ।”