निषेधाज्ञाको अघिल्लो दिन १३ अंकले घट्यो नेप्से, ३ अर्बको मात्रै कारोबार


काठमाडौं । हिजो उछाल आएको सेयरबजार आज भने खुम्चिएको छ । केही दिन यता कोरोना संक्रमणको बढ्दै गएपछि त्यसको असर बजारमा परेको हुनसक्ने लगानीकर्ता बताउँछन् ।

बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से १३.७९ अंकले घटेर २५८५.२८ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि २.१६ अंकले घटेर ४६५.१२ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ।

नेप्सेमा आज कारोबार रकमको आधारमा एनसीसी बैंक अग्रस्थानमा रहेको छ । बैंकको २८ करोड २८ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

कूल २१५ वटा कम्पनीको ८९ लाख ५३ हजार ४ सय ५१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९८ करोड ३५ लाख ३३ हजार ८ सय ८६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कारोबार रकम भने निकै घटेको छ । औसमा ५ अर्ब देखि माथिको कारोबार हुने बजारमा आज भने ३ अर्बको मात्रै कारोबार भएको छ । जसको कारण कोरोना संक्रमणको दर बढ्दै गएपछि भोलिदेखि हुने लकडाउनले लगानीकर्ताको मनोबल घटेको सेयरविज्ञहरुको भनाई छ ।