आर्थिक वृद्धिदर ४ प्रतिशत रहने‌‌, प्रतिव्यक्ति आय ११९१ अमेरिकी डलर


काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा देशको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने दाबी गरेको छ । विभागले आगामी दुई हप्तासम्म कोभिड-१९ को नकारात्मक असर सामान्य रहने अनुमानका आधारमा यो प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो ।

विभागले गत आर्थिक वर्ष २०७६/७७ का लागि जारी गरेको प्रारम्भिक अनुमानहरूमा पनि तीन पटक स‍ंशोधन गरेको थियो । २०७७ वैशाखमा देशको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहन्छ भन्ने प्रारम्भिक प्रतिवेदन जारी गरेको विभागले लकडाउनका करिब ४० दिनपछि राष्ट्रिय योजना आयोगलाई गरेको ब्रि‌‌फि‌‌ङमा ०.९७ प्रतिशतले ऋणात्मक हुने बताएको थियो भने पछि १.९ प्रतिशतले ऋणात्मक भएको उल्लेख गर्‍यो ।

विभागले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर र गत आर्थिक वर्षको संशोधित अनुमानअनुसार भने गत वर्ष अर्थतन्त्र २.१ प्रतिशतले संकुचित भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो र दोस्रो चौमासिकमा अर्थतन्त्रमा संकुचन आए पनि अन्तिम चौमासिकमा सुधार हुने विभागले अपेक्षा गरेको हो ।

विभागका अनुसार चालू वर्ष कृषि क्षेत्रको वृद्धिदर २.७५ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धिदर ४.९३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.४३ प्रतिशत रहने छ ।

प्रतिव्यक्ति आय ११९१ अमेरिकी डलर

देशको समग्र अर्थतन्त्रको आकार बढेर ४२ खर्ब ६६ अर्ब रुपैयाँ पुगेपछि समग्र अर्थतन्त्रको आकारलाई जनसंख्याले भाग गरेर निकालिने प्रतिव्यक्ति आय पनि ७.५ प्रतिशतले बढेर १ लाख ४० हजार ८१९ रुपैयाँ पुगेको छ । विभागका अनुसार गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ लाख ३० हजार ९५७ रुपैयाँ थियो ।

अमेरिकी डलरमा भने प्रतिव्यक्ति आय १ हजार १९१ डलर पुगेको छ, जुन गत वर्ष १ हजार १२६ अमेरिकी डलर थियो । गत वर्ष अर्थतन्त्र संकुचित हुँदा प्रतिव्यक्ति आय पनि अघिल्लो वर्षको १ हजार १५९ डलरबाट घटेको हो ।