सरकारले खर्च गर्न नसकेपछि खातामा थन्कियो अढाइ खर्ब


काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा पनि विनियोजित बजेट खर्च गर्न नसकेपछि सरकारको खातामा झन्डै अढाइ खर्ब रुपैयाँ थन्केको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को चैत मसान्तसम्म सरकारको खातामा १ खर्ब ७७ अर्ब ६४ करोड रुपैयाँ थन्केर बसेकोमा यो वर्ष सरकारको खर्च गर्ने क्षमता अझ कमजोर भएका कारण राष्ट्र बैंकमा सरकारको बचत २ खर्ब ४९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यसमा स्थानीय तहको २१ अर्ब ७० करोड रुपैयाँ पनि जोडिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो नौ महिनाको आर्थिक स्थिति समीक्षा प्रतिवेदनअनुसार सरकारले चैत मसान्तसम्म सरकारको राजस्व संकलन ६ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँमात्र भए पनि साउनबाटै उठाइएको आन्तरिक ऋण, वैदेशिक ऋण र अन्य शीर्षकको आयले सरकारको खातामा सञ्चिति बढेको हो ।

राष्ट्र बैंकका अनुसार सरकारले चैतसम्म १ खर्ब १२ अर्ब ५२ करोड आन्तरिक ऋण उठाएको, ७० अर्ब ६३ करोड रुपैयाँ वैदेशिक ऋण लिएको र २२ अर्ब ५६ करोड रूपैयाँ वैदेशिक अनुदान पाएको छ ।

राष्ट्र बैंकले महालेखा नियन्त्रकको विवरण उल्लेख गर्दै जनाएअनुसार २०७७ चैत मसान्तसम्ममा चालू खर्च ५ खर्ब २६ अर्ब ९७ करोड, पुँजीगत खर्च १ खर्ब ५ अर्ब ७३ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ५७ अर्ब ५९ करोड गरी कुल ६ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ  खर्च भएको छ ।

चालू तर्फ कुल विनियोजित बजेटको ५५.५ प्रतिशत खर्च गर्न सकेको सरकारले पुँजीगततर्फ नौ महिनामा केबल एक तिहाइ रकममात्र खर्च गर्न सकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।