रेमिट्यान्स इतिहासकै सर्वाधिक, ९ खर्ब ६१ अर्ब रुपैयाँ भित्रियो


काठमाडौं ।  कोभिड-१९ महामारीले विश्व अर्थतन्त्र नै मन्दीमा गएका कारण विश्वव्यापी रुपमा रेमिट‍्यान्स प्रवाह घट्छ भनेर विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमए‌फ)ले पूर्वानुमान गरे पनि नेपालमा भने इतिहासकै सर्वाधिक रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, यो नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको अभिलेख राख्न थालेयताकै सर्वाधिक हो । यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ भन्दा ९.८ प्रतिशत बढी हो ।

आर्थिक वर्ष २०७६/७७ मा पनि ८ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । सो वर्ष भने अघिल्लो आर्थिक वर्ष २०७५/७६ भन्दा ०.५ प्रतिशतको झिनो दरले मात्र रेमिट्यान्स घटेको थियो ।

विश्व बैंकले सन् २०२०मा नेपालमा भित्रने रेमिट्यानस करिब १४ प्रतिशतले घट्ने गत वर्ष पूर्वानुमान गरेको थियो भने नेपाल राष्ट्र बैंक आफ‌ैले करिब १० प्रतिशतले रेमिट्यान्स घट्ने अनुमान गरेको थियो ।

कोभिड-१९ महामारीका कारणले नेपालसहित विश्वका विभिन्न मुलुकले लगाएको यात्रा प्रतिबन्धका कारण हुन्डी, ह्यान्डक्यारीमार्फ‌त् भित्रने रेमिट्यान्स औपचारिक बैंकिङ प्रणालीबाट आएका कारण रेमिट्यान्स बढेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।