आयोगको विज्ञप्तीपछि खानीखोला सहित तीन कम्पनीको सेयर मूल्यमा उल्टो सर्किट


काठमाडौं ।  विद्युत नियमन आयोगले त्रुटिपूर्ण सूचना प्रवाह गर्ने विद्युत कम्पनीका प्रवर्द्धक एवं विद्युत उत्पादक कम्पनीविरुद्ध आवश्यक कारबाही चाल्ने चेतावनी दिएको भोलिपल्ट (आज) हाइड्रो पावर समुहका कम्पनीको सेयर मूल्यमा उल्टो सर्किट लागेको छ ।

पछिल्लो केही समय २ देखि ३ सय मूल्य रहेका हाइड्रो कम्पनीका सेयर मूल्य प्राय सबै ५ सय माथि पुगेका थिए । वित्तीय विवरण नराम्रो भएका कम्पनीको मूल्य पनि आकाशिएकोले लगानीकर्ताको लगानी फस्ने जोखिम धेरै भएको सेयर विज्ञहरुले बताउँदै आएका छन् ।

हिजो आयोगले निकालेको विज्ञप्ती तथा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा करेक्सन भएको नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेलले बताइन् ।
पोख्रेल भन्छिन् “बजार सधै बढ्ने भन्ने पनि कहिले कुन सेक्टर बढ्छ कहिले कुन सेक्टर घट्छ तर हाइड्रो धेरै बढिसक्यो जसलेगर्दा नाफा बुक पनि हुने भयो अनि आयोगको विज्ञप्तीको असर पनि पर्यो ।”

आज केही दिन देखि लगातार सकरात्म सर्किट हानेको खानीखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने हाइड्रो इलेक्ट्रिसिटी डभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशत, पन्चकन्या माई हाइड्रो पावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले घटेको छ ।त्यस्तै आज हाइड्रो पावर समुहका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सान व्यहोर्नुपरेको छ ।

आयोगले सुचिकृत कम्पनीले जानकारी तथा विवरणहरु सार्वजनिक गर्दा सत्य तथ्य जानकारी गराउनु पर्ने कम्पनीको जिम्मेवारी हो यदि कसैले जानाजान रुपमा लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले गलत सूचना दिने प्रबर्दक र कम्पनीलाई कारबाही गर्ने आयोगले जनाएको छ ।