तत्काल भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन


काठमाडौं । देशका प्रमुख भन्सार नाकाहरुमा तत्काल भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।

आइतबार भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शर्माले मालवस्तुको वर्गीकरण र मूल्यांकनमा इमान्दारिता कायम गरी राजश्व संकलन बृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गरे।

भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले लक्षअनुसारको राजश्व संकलन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले सदाचारलाई शिरमा तथा राष्ट्रहितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिए।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए।

मरासिनीले सरुवाका लागि कुनै पनि दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए। सरुवाका लागि फोन गराई दबाब सिर्जना गर्ने कर्मचारीहरुको माग सुनुवाइ नहुने उनले बताए ।