कोशी कोरिडोर विद्युत प्रसारणलाइन पहिलो चरणको निर्माण सम्पन्न


काठमाडौं । २२० केभी डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारण लाइन पहिलो चरण (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । धनकुटाको हिलेमा बुधबार एक समारोहकाबीच नेपाल विद्युत प्राधिकरणलाई उक्त विद्युत प्रसारणलाइन हस्तान्तरण गरेको छ ।

१०६ किलाेमिटर लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइन १० अर्ब  ४० कराेड रुपैँया लागतमा निर्माण भएको हो । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५ करोड रुपैँया ऋण सहयोग अन्तर्गत यस प्रसारण लाइनको निर्माण भइरहेको छ ।

भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले ४.५ अर्ब रुपैँया लागतमा यस परियोजनाको पहिलो चरण निर्माणको जिम्मा लिएको थियो । पहिलो चरण सफलतापूर्वक निर्माण सम्पन्न गरेर नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरेको हो ।

बाँकी दुई चरण निर्माण सम्पन्न भएपछि सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २००० मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्ने बताइएको छ ।

समारोहमा दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाले भारत उर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन ।

उनले नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् ।

भारतले कोशी कोरिडोरको अतिरिक्त १३२ केभि क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ ।