जयनगर कुर्था सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण


काठमाडौं । जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।

भारत सरकारको सहयोगमा निर्माण भएको सो रेलमार्ग एक समारोहको आयोजना गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले सहभागितामा सो हस्तान्तरण समारोह सम्पन्न भएको हो ।

समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकान इन्टरनेसनल लिमिटेडले सो रेलखण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण ग¥यो ।

भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारोगज खण्डलाई ब्रोडगजमा रूपान्तरण गरी नेपाललाई सुम्पिएको हो ।

जयनगर बिजलपुरा बर्दिबास रेलमार्गको एक हिस्साको रूपमा रहेको जयनगर कुर्था खण्डको निर्माण भारत सरकारको आर्थिक सहयोगअन्तर्गत नेरु.८.७७ अर्ब रुपैंयामा ३४.९ किलोमिटर लामो रेलमार्ग निर्माण भएको हो । यो रेलमागको कुल लम्बाइ ६८.७२ रहेको छ ।

पहिले जयनगर र बिजलपुराबीच न्यारोगज रेलमार्गको रूपमा सञ्चालित थियो । जयनगर–कुर्थाखण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन्, जसमा एतिहासितक महत्वको जनकपुरधाम पनि सामेल छ ।

सञ्चालनमा आएपछि यो भारत र नेपालबीचको पहिलो ब्रोडगज सीमापार रेलमार्ग हुनेछ । यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरुलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्ध विस्तार गर्ने विश्वास लिइएको छ ।