असाेजदेखि खर्च तीव्र रूपमा भइरहेको गभर्नरको भनाइ


काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले असोजदेखि विकास खर्च तीव्र रूपमा भइराखेको बताएका छन् । गर्भनर अधिकारीले करिब ८१–८२ प्रतिशत खर्च कार्तिकमा भइराखेको आफूले थाहा पाएको बुधबार आर्थिक पत्रकार संघ नाफिजले गरेको जर्नल विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन्।

राजस्व संकलनको अवस्था एकदमै राम्रो भएको बताउँदै उनले बाह्य क्षेत्रको दबाब परिराखेको जनाए । निर्यात भन्दा आयात एकदम धेरै भएको र विप्रेषणमा शिथिलता आएकाले समस्या भएको उनले बताए । विप्रेषण ३ महिनाको तथ्याङ्क हेर्दा ७ प्रतिशत घटेको छ।

तरलतमा आएको समस्याबारे उनले यस वर्ष ऋणको माग धेरै भएकोले तरलतामा असर परिराखेको विषय औंल्याए । तरलता अभाव कम गर्न राष्ट्र बैंकको तर्फबाट हेर्न सक्ने र मार्केटको माग हेरेर वित्तीय संस्थाले माग गरेका हामीले दिन सक्ने दिइराखेको बताए।

उनले सिडी रेसियोको कारण सिस्टममलाई जोगाएको बताए । उनले भने, “संस्थानमा संकट आयो भने भोलि समष्टिगत सिस्टममा समस्या आउँछ र उतै लाग्न नसक्ने समस्याको स्थिति आउँछ । यसलाई यस्ता पोलिसीले बचाउने गरेको छ । यसलाई हामीले समर्थन गर्नुपर्छ।”

कुनै क्षेत्रलाई यसले असर पारेको तर समग्र सिस्टमलाई यसको महत्वपूर्ण योगदान रहेको गर्भनर अधिकारीले बताए । “यसको असरले ऋणमा ब्याज बढेको भन्ने कुरा आएको छ । ऋणको ब्याज औसत ९ प्रतिशत छ । यस्तो परिस्थितिमा पनि ९ प्रतिशत भन्दा कम रहनु भनेको सिस्टमको लागि ठुलो कुरा हो।”

उनले भने, “अनावश्यक रूपमा रेट स्विङ हुने र संस्थालाई तत्काल असर गर्ने र समग्र रेटलाई असर गर्छ रेटको स्थिरतालाई असर गर्ने कुरालाई हामीले अलिकति ठिक गरेको मात्र हो । रेट नै राष्ट्र बैंकले निर्धारण गरेको होइन।”