हेलिकप्टरबाट उपकरण ढुवानी गरी अति दुर्गम र विकट स्थानमा नेपाल टेलिकमको सेवा


काठमाडौं । नेपाल टेलिकमले यस आर्थिक वर्षमा अति दुर्गम र विकट ८ स्थानहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ ।

टेलिकमले अत्यन्त दूर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको जनाएको छ ।

सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्ट हेलिकप्टरबाट उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरेको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

नेपाल टेलिकमले अन्य ३ (तीन) दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिने जनाएको छ ।

हाल यी स्थानहरुमा संरचना निर्माण भइरहेको छ र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउन लागेको हो ।