कृषिमा पर्याप्त बजेट नभएको कारण समस्या बढ्यो : कृषि मन्त्री यादव


काठमाडौं । कृषिमा पर्याप्त बजेट नभएका कारण समस्या बढिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले बताएका छन् ।

काठमाडौंमा भएको नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन (नेभ्ला)को १० औं महाधिवेसनमा “कृषि प्रधान देश भन्छौं तर कृषि क्षेत्रमा पर्याप्त बजेट छैन ।” मन्त्री यादवले भने । मन्त्री यादवले कृषिमा बजेट नभएका कारण समस्या बढिरहेको बताए ।

अनुदान रकम वास्तविक किसानको हातसम्म पुर्याउन मन्त्रालयको ध्यान रहेको उनले बताएका छन् । वास्तविक किसानले अनुदान नपाएको गुनासो आइरहेको बेला कृषि मन्त्री यादवले यस्तो बताएका हुन् ।

मलको समस्या सँधै बढिराखेको बताउँदै मन्त्री यादवले मलको समस्या नहुने गरि जीटुजी प्रक्रिया मार्फत मल खरिद गर्ने प्रक्रिया अघि बढाउने बताए । जीटुजी प्रणाली मार्फत मल खरिद गर्दा स्वचालित मुल्य प्रणाली अनुसार मल पाउने उनको भनाइ थियो ।

“कृषि पेसा राष्ट्रको पेसा हो, किसानको समस्या राष्ट्रको समस्या हो त्यसको लागि मन्त्रालयले सहयोग गरिराखेको छ ।,” उनले भने ।

कृषि क्षेत्रमा तीन ओटै सरकारले पर्याप्त बजेट विनियोजन नभएको नेपाल नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन (नेभ्ला)का अध्यक्ष रामप्रसाद मेहत्ताले बताएका छन् ।

अध्यक्ष मेहत्ताले कृषि प्रधान देश भन्ने तर कृषिमा पर्याप्त बजेट नछुट्टाई तीनतहका सरकारले कसरी काम गरिराखेका छन् ? भन्दै प्रश्न गरे ।

कृषि क्षेत्रको समृद्धि नभई देशको मुहार नफेरिने उनले बताए । “किसान सुरक्षित भएमात्र हामी सुरक्षित हुन्छौं ।” उनले भने, “किसानलाई सुरक्षित गराउन हामीले काम गरिराखेको छौं ।”

किसानको हातमा पशु बिमामात्र पुग्ने अरु अनुदान वास्तविक किसानको हातमा नपुग्ने गरेको उनले गुनासो गरे ।

उनले उन्नत जातको गाई भैंसी पालन गर्नुपर्ने बताए । “उन्नत जातको गाई १० प्रतिशत र उन्नत जातको भैंसी २५ प्रतिशतको हाराहारी पालन भइराखेको छ । नश्ल सुधारको कार्यक्रम ल्याएर त्यसलाई अगाडी बढाए दुधमा आत्म निर्भर हुन समय लाग्दैन । यसलाई सुधार गर्नुपर्छ,” उनले भने ।

उत्पादनमा आधारित अनुदान दिनुपर्नेमा मन्त्री यादवको जोड छ ।