अंग्रेजी नयाँ वर्ष २०२२ को कारोबारको पहिलो दिन नेप्सेमा उछाल


काठमाडौं । अंग्रेजी नयाँ वर्षको कारोबारको पहिलो दिन सेयर बजारमाम उछाल आएको छ । नयाँ वर्ष २०२२ लाई स्वागत गर्दै हरियाली बनेको सेयरबजारमा आज वर्षको पहिलो कारोबारको दिन ६० अंकको उछाल आएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ६०.४१ अंकले बढेर २५८४.९१ अंकमामा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १०.७७ अंकले बढेर ४८२.०१ अंकमा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी १२ वटा उपसमूहको सेयर बढेको छ ।
आइतबार कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४४ करोड ९४ लाख २ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज हिमालयन डिष्टिलरीका लगानीकर्ताले नै सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.१२ प्रतिशतले घटेको छ ।

कूल २४० वटा कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।