रेमिट्यान्स लगातार घट्दै,मासिक औसत ७५ अर्ब भित्रियो


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मासिक रेमिट्यान्स प्रवाह औसत ७५ अर्ब रुपैयाँ रहेको पाइएको छ ।

साउनमा ७६ अर्ब भित्रिएकोमा, भदौमा ७९ अर्ब ४० करोड, असोजमा ८३ अर्ब ९० करोड, कात्तिकमा ७३ अर्ब १० करोड, मंसिरमा ७६ अर्ब १० करोड र पुसमा ७९ अर्ब ९० करोड भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको तथ्याङ्क अनुसार देशमा भित्रनिे रेमिट्यान्स गत वर्षका तुलनामा ५.५ प्रतिशतले कमी आई रु.४ खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स प्रवाह ११.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड कायम भएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

चालू आवको पहिलो ६ महिनामा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आई रु.५ खर्ब २३ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।