नेप्सेमा ३९ अंकको गिरावट, लगानीकर्ता पर्ख र हेरको अवस्थामा


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा सेयरबजार मैत्री नीतिहरु नल्याउँदा बजार प्रभावित बनेको छ ।

राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षासँगै बैंकिङ प्रणालीमा देखिएको तरलताको चरम अभावको प्रभाव सेयर बजारमा परेको नेपाल इन्भन्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् ।

देशमा अहिले संसदमा एमसीसी पास हुने नहुनेका बीचमा पनि पुँजीबजार अल्मलिएको छ ढकालले भने अब दु्ई तिन दिनमा एमसीसीको पनि टुंगो लाग्नेछ, यसका साथै निर्वाचन घोषणा पनि भैसकेको हुनाले निर्वाचनको लागि स्थानीय निकायको पैसा त खर्च हुन्छ जसले गर्दा विस्तारै तरलता पनि सहज हुने हुँदा बजार लयमै फर्किन्छ ।

अहिलेको अवस्थामा भने राजनीतिक घटनाक्रमका साथै बैंकहरुले कर्जा लगानीमा गरेको कडाई, व्याजदर वृद्धिको कारणले पनि सेयर बजार पर्ख र हेरको अवस्थामा रहेको ढकालले बताए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३९.४० अंकले घटेर २६९३.१० अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि ४.९९ अंकले घटेर ५१३.६४ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । संस्थाको ५८ करोड २ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । संस्थाले सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

आइतबार युनाइटेड ईदी–मार्दी र आरबी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको सेयरमूल्य ४.७४ प्रतिशतले घटेको छ ।

कूल २३० वटा कम्पनीको ७१ लाख २२ हजार २ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।