नेपाली आधुनिक नोटको साङ्गोपाङ्गो

नेपालमा मुद्राकोे इतिहासदेखि कहिले कहिले कति कति नोट प्रकाशित भएका थिए? (पुस्तक समीक्षा)


नेपालमा सुरुका दिनमा भारतको नासिकमा छापिएर आउने नोटहरू उतैका डिजाइनरले तयार पार्थे भने नेपाल राष्ट्र बैंकको स्थापनापछि राष्ट्र बैंकले आफैले नोट डिजाइन गराउन थालेको हो । 

२०६२ सालमा नेपाल राष्ट्र बैंकले आफ्नो स्वर्ण जयन्ती वर्ष मनाउँदा एउटा पुस्तक निकालेको थियो– ‘नोट एन्ड क्वाइन्स अफ नेपाल’ । स्वर्ण जयन्तीको त्यो विशेष प्रकाशन अति नै सीमित अंकमा छापिएको थियो । राष्ट्र बैंकका बहालवाला उच्च अधिकारी र तत्कालीन सरकारका उच्च अधिकारीलाई मात्र त्यो पुस्तक बाँडिएको थियो । 

विश्व बैंकको ऋण सहयोगमा सुधार कार्यक्रम चलिरहेको बेला प्रकाशित त्यो पुस्तक पछि राष्ट्र बैंकको बेवसाइटमा राखिए पनि त्यसले धेरै प्राविधिक जानकारीहरू भने दिँदैन । 

यही कुरालाई मध्यनजर गरी नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत श्याम खतिवडाले सन् २०१२ मा ‘ग्लिम्पसिज अफ नेपालिज् पेपर करेन्सी’ नामक पुस्तक प्रकाशनमा ल्याएका थिए । 

उनै खतिवडाले आफ्नो अंग्रेजी पुस्तकलाई थप परिस्कृत गरी हालै ‘नेपालका आधुनिक मुद्राहरूः एक समीक्षा’ नामक पुस्तक प्रकाशनमा ल्याएका छन् ।

नेपालमा हालसम्म निष्कासित कागजीमात्र होइन, उपलब्ध भएसम्म सिक्का समेत गरी सबै मुद्राहरूको सचित्र विवरण यो प्रकाशित पुस्तकमा समावेश छ । यसले नेपालमा मुद्राको ऐतिहासिक विकासक्रमसँगै हालसम्म निष्कासित मुद्रा (नोट र सिक्का) को सचित्र विवरण, मुद्रामा अङ्कित नेपालको प्राकृतिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक विशेषताबारे चर्चा गरिएको छ । 

पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा नेपाली मुद्राको इतिहासका विभिन्न कालखण्डको व्याख्या गरिएको छ । लिच्छवीकालीन, मल्लकालीन, शाहकालीन मुद्राहरूको विकासक्रमसहित सिक्काको विकल्पमा कागजी नोटको खोजीको विषयलाई पनि उल्लेख गरिएको छ ।

नेपालमा मुद्रा निष्कासनको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्मका आधुनिक मुद्राका अन्वेषणात्मक विवरणलाई उक्त पुस्तकमा समेटिएको छ । नेपाल राष्ट्र बैंकको स्थापनाभन्दा अगाडि नै बिसं २००२ साल असोज १ गतेदेखि सदर मुलुकी खानाबाट कागजी नोट निष्कासन हुन थालेको हो । 

२००२ देखि २०१२ सालसम्म जारी नेपाली नोटमा ‘खजाञ्ची’ जनकराज, भरतराज र नरेन्द्रराजको दस्तखत थियो । नेपाल राष्ट्र बैंक २०१३ सालमा स्थापना भए पनि २०१६ सालमा मात्र यसले नोट निष्कासन गर्न थालेको हो, जसमा नेपालका पहिलो गभर्नर हिमालय शमसेरको हस्ताक्षर छ । 

नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४ जारी भइ २०१७ सालदेखि क्रमशः देशका प्रमुख क्षेत्रहरूमा नेपाली नोटको चलनचल्तीमा ल्याइयो । २०२२ सालबाट नेपालमा द्वय मुद्राको रूपमा रहेको भारतीय मुद्रा (कम्पनी मुद्रा) पूर्णतः चलनचल्तीबाट हटाइयो । 

नेपालमा मुद्राकोे इतिहासदेखि कहिले कहिले कति कति नोट प्रकाशित भएका थिए? नेपालमा कागजी मुद्राकोे विकासक्रम, हालसम्म प्रकाशित भएका मुद्राहरूको सचित्र विवरण, जाली नोट समस्या र समाधान उपाय, सफा नोट नीति र यसको सफल कार्यान्वयनका पक्षहरू, नोटमा रहेका विभिन्न मठ मन्दिर, हिमाल र पशुपंक्षीहरू, तथा संस्मरणात्मक सिक्काहरूको विषयलाई यो पुस्तकले चर्चा गरेको छ । 

पुस्तकको सबैभन्दा सबल पक्ष भनेको नोट संकलनकर्ताहरूले कुन किसिमका नोट सङ्कलन गर्दा त्यसको मूल्य र महत्व बढी हुन्छ भन्ने कुराको विस्तृत जानकारी हो भने चलनचल्तीमै नआइ बीचमा प्रतिस्थापन गरिएका नोटका विवरणसहित हालसम्म निष्कासित नोटहरूबारेको पूर्ण प्राविधिक विवरणले पुस्तक खँदिलो बनाएको छ । यसबाहेक कुन गभर्नरका समयका कति दरका कति नोट निष्कासन भए, नेपालमा नोट निष्कासनका प्रक्रिया के के छ भन्ने विषयमा पनि विस्तृत जानकारी दिइएको छ ।

लेखक खतिवडाअनुसारका २०७७ पुस मसान्तसम्म नेपालमा सुरुवात हाल १२ खर्ब ८५ अर्ब रुपैयाँबराबरका कागजी नोट निष्कासन भएकोमा ६ खर्ब १७ अर्ब रुपैयाँ चलनचल्तीमा छन् । राष्ट्र बैंकले पुराना, झुत्रा नोट जलाउने, समय–समयमा कुनै निश्चित सिरिजका नोट चलनचल्तीबाट हटाउने कारणले चलनचल्तीमा रहेका नोट संख्या कम देखिएको हो । 

लेखकका अनुसार परीक्षणकै क्रममा त्रुटि देखिएका ६२ करोड ३८ लाख रुपैयाँ मूल्य बराबरको नोट जलाइएको छ भने चलनचल्तीमा अयोग्य ५ खर्ब ४५ अर्ब रुपैयाँ बराबरका नोट जलाइ सकिएको छ । २०६४ चैत मसान्तपछि तत्कालीन राजाहरूका तस्बिर अङ्कित नोटहरू क्रमशः चलनचल्तीबाट हटाउँदै लगिएको छ । 

लेखक खतिवडाले पुस्तकका लागि निकै मेहनत गरेर प्राविधिक जानकारीहरूसमेत जुटाए पनि सबैभन्दा चासोको विषय, नोट डिजाइनको पाटोमा भने पुस्तक मौन छ । 

नेपालमा सुरुका दिनमा भारतको नासिकमा छापिएर आउने नोटहरू उतैका डिजाइनरले तयार पार्थे भने नेपाल राष्ट्र बैंकको स्थापनापछि राष्ट्र बैंकले आफैले नोट डिजाइन गराउन थालेको हो । हाल नोट डिजाइनको कार्यमा कलाकार सुन्दर श्रेष्ठ संलग्न रहँदै आएका छन् ।