चैत १८ गतेदेखि हिमालयन हाइड्रो एक्सपो २०२२ हुँदै


काठमाडौं । हिमालयन हाइड्रो एक्सपो “हिमालयन हाइड्रो एक्स्पो २०२२ थिम : क्रेटिङ मार्केट्स फर नेपाल हाइडोपावर” हुने भएको । एक्सो चैत १८ गतेदेखि २० गतेसम्म भृकुटीमण्डपमा हुन लागेको हो ।

तेस्रो संस्करणको एक्स्पो स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज् प्रा. लि. ले आयोजना गर्न लागेको हो । यस एक्सपोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुताबास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने जनाइएको छ ।

एक्स्पोमा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा सहयोग र सहकार्यमा समेत सहजता आउने अपेक्षा लिएको इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए । “यसबाट नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर हुने छ भन्ने हाम्रो विश्वास छ,” उनले भने ।

उनका अनुसार हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको विकसित पछिल्ला प्रविधिका बारेमा जानकारी गराउन, नेपालको जलविद्युतको लागि बजारको प्रवर्द्धन गर्न, देशभित्र विद्युत खपत बढाउने, विद्युत व्यापारको प्रबर्द्धन गर्ने, हाइड्रोपावर सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामुनि भेला पारी यससम्बन्धी ज्ञान, सीप तथा प्रविधिको जानकारी दिन तथा विभिन्न मुलुकसँग हाइड्रोपावर परियोजना विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले यो एक्स्पोको आयोजना गर्न लागिएको हो ।

यस एक्स्पोले नेपालमा उर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीव्रता दिन सहयोग गर्ने र सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको राष्ट्रिय लक्ष्यमा महत्वपूर्ण योगदान दिने तथा जलविद्युत क्षेत्रको विकासमा बहुआयामिक योगदान पुयाउने बिस्वास लिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् । जसमा ५० प्रतिशत विदेशी स्टल रहने इपानले अनुमान गरेको छ ।

एक्स्पोमा नेपाल–भारत पावर कन्क्लेभको आयोजना पनि गरिने भएको छ । यसमा नेपाल र भारतका बिज्ञहरुले विद्युत उत्पादन, प्रसारण, प्रबिधि र व्यापार सम्बन्धी चार बुँदे बिषयबस्तुमा छलफल गर्ने र जलबिद्युत सम्बन्धी अन्य विषयमा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।

एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो पावर रोबोथन (हाइड्रोकन २.००), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन जस्ता कार्यक्रम रहने उल्लेख छ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा हुने जनाइएको छ ।

एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । एक्स्पो अवलोकनका लागि आउने अवलोकनकर्ताहरुलाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिने अध्यक्ष आचार्यले बताए ।

एक्स्पोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने इपानको अपेक्षा छ ।