नेपालमा एसियाकै पहिलो पटक कृषि कर्जा मेला हुँदै


काठमाडौं । नेपालमा एसियामै पहिलो पटक कृषि कर्जा मेला हुने भएको छ । कृषि कर्जामा लगानी बढ्दै गएको भएपनि कृषि क्षेत्रमा संलग्न रहेका वास्तविक कृषकहरुले सहज र सुलभ रुपमा कृषि कर्जा पाउन नसकेको गुनासो आएको भन्दै कृषि कर्जा मेला आयोजना गर्न लागिएको हो ।

यस मेलामा “कृषिमा वित्तीय पहुँचको राष्ट्रिय संवाद” का साथै देश भरिबाट कृषि उद्यमीहरुको सहभागीतामा कार्यशाला समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

कृषकलाई कृषि कर्जामा कागजी र प्रक्रियागत झंझट बेहोर्नु परेको गुनासो आउने गरेकोले कृषि संवाद गर्न लागेको आर एण्ड डी इनोभेटिभ सोलुसनले जनाएको छ । यसमा कृषक र बैंकहरुलाई एकै थलोमा भेला गराइ कृषि कर्जा सम्बन्धमा कृषकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने र कृषि कर्जाको क्षेत्रमा देखिएका समस्याहरु निराकरणका लागि पहल गर्ने जनाइएको छ ।

मेलाले आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्याउने र कृषक, बैंक, सेवाप्रदायक र नीति निर्मातवीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने गर्ने अपेक्षा आयोजकले लिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले १५/१६ ओटा बैंकले कृषि मेलामा कर्जा दिन तयार भइसकेको बताए । उनले कृषिमा ६ सय अर्ब लगानी भइसकेको बताए । राष्ट्र बैंकको निर्देशन अनुसार अहिले बैंकहरुले कृषि र साना उद्योगमा लगानी गरिराखेको उल्लेख गरे ।

कृषि विकास बैंकका कार्यबाहक निर्देशक बाबु काजी थापाले यो मेलाले सरकारी संस्था, बैंक, उद्योगी व्यवसायी र किसानलाई एकै ठाउँमा ल्याएको बताए । उनले ब्याज अनुदानले कृषिमा प्रशस्त लगानी भइराखेको बताएका छन् ।

यस विषयमा नबिल बैंकका सिईओ अनिल केशरी साहले दिगो बैंकिङ खडा गरेर दुर्गम क्षेत्रमा कसरी पुग्न सकिन्छ भनेर लागि परेको बताएका छन् । कृषिमा नै भविष्य भएको भन्दै साहले विदेशबाट नेपाल फर्किएका नेपालीले कृषिमा लागे राम्रो हुने बताए ।

नेपाल मेसिनरी व्यवसाय संघका अध्यक्ष खगराज अधिकारीले बैंकहरुले जसरी जग्गालाई माथि पुर्याउन सहयोग गरे त्यसैगरी कृषिलाई पनि माथि पुर्याउन आग्रह गरेका छन् । कृषिमा लगानी बढिरहेको भन्दै यसको रिजल्ट कुर्न केहि समय कुर्नु पर्ने उनले बताए ।

मेला चैत ९ गतेदखि १२ गतेसम्म चितवनमा हुँदै छ ।