चार दिने राष्ट्रिय कृषि यान्त्रिकरण मेला सम्पन्न, ७५ हजारले गरे अवलोकन  


चितवन । चितवनको भरतपुर एक्स्पो सेन्टरमा जारी सलोम एग्रिकल्चर राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी सनिबार सम्पन्न भएको छ । 

प्रर्दशनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकारणमा टेवा पु¥याउन कृषि, पशुपालन र नयाँ कृषि यन्त्र तथा उपकरण सम्बन्धी प्रविधिको प्रदर्शनी गरिएको थियो। 

नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गरेको चार दिने मेलाको ७५ हजार भन्दा बढीले अवलोकन गरेको उपाध्यक्ष एवं मेला संयोजक उमेश नारायन मान्नधरले जानकारी दिए । यो वर्षको प्रर्दशनीको मुख्य प्रायोजकको रुपमा सलोम एग्रिकल्चर रहेको थियो। 

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीको सहभागिता रहेको प्रर्दशनीमा १५० भन्दा बढी प्रदर्शनकर्ता एवं २० भन्दा बढी मुलुकमा उत्पादित २ हजार भन्दा बढी उपकरणहरु राखिएको थियो । प्रदर्शनी अन्तर्गत पहिलो पटक कृषि कर्जा मेलाकोसमेत सम्पन्न भएको छ। मेड इन नेपाल प्याभिलियनसमेत मेलाको प्रमुख आकर्षणको रुपमा देखियो । 

“हामीले नेपालमा मात्र हैन सम्भवतः दक्षिण एसियामै पहिलो पटक कृषि कर्जा मेला सम्पन्न गरेका छौं,” महासंघकी सदस्य सुनिता निमाफुकीले भनिन्, “कृषि कर्जा उपलब्ध गराउन योजना बनाइरहेको बैंक र लिन चाहने कृषकबीचका असहजता कम गर्दै कृषि कर्जा प्रवाहमा मेलाले मद्दत पुगेको हामीलाई विश्वास छ।” 

प्रदर्शनीको मूल उद्देश्य नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत पु¥याउनुका साथै तिनको प्रयोगद्वारा कृषि उत्पादनमा वृद्धि भई कृषिउपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउनु रहेको संघका अध्यक्ष खोजराज कुटुवालले बताए । 

“प्रदर्शनीलाई सामान्य मेलाको रुपमा मात्र गरिएको हैन, हामीले मुलुक भित्र उपलब्ध कृषि यन्त्रलाई सरोकारवालालाई चिनाउनेदेखि स्वदेशमै उत्पादन प्रवद्र्धनको उद्देश्य लिएर कार्यक्रम सम्पन्न गरेका छौं,” अध्यक्ष कटुवालले भने, “हामी उत्साहित छौं, कृषि यन्त्रमा मुलुकलाई आत्मनिर्भर बनाउने हाम्रो ध्ययलाई मेलाले थप निकाखारेको छ।” 

चार दिनसम्म चलेको प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धि आधुनिक यन्त्र, उपकरण तथा प्रवाधिका सामाग्री, बीउ विजन, आधुनिक सिँचाई लगायतको बारेमा जानकारी लिन कृषक, विद्यार्थी, अनुसन्धानकर्ता, नीति निर्माता, व्यवसायी लगायतका सरोकारवालाले अवलोकन गरेका थिए।

प्रदर्शनी सम्पन्न भए पनि मुलुकको अर्थतन्त्रमा योगदान गरिरहेको कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सहयोगी हुने कृषि यन्त्रको प्रवद्र्धनमा महासंघले निरन्तर पैरवी गरिरहने महासंघका महासचिव कृष्ण शर्माले बताए ।

“कृषि यान्त्रिकरण सरकारको प्राथमिकतामा छ तर कृषि यान्त्रिकरणमा योगदान गर्ने यान्त्रिकरण उद्यमी तथा व्यवसायीहरु भने कम प्राथमिकतामा परको महसुस हुदै आएको विषय हो,” शर्माले भने, “तर प्रदर्शनीले हामीलाई थप उत्साहित बनाएको छ, नीति निर्मातादेखि धेरैले यान्त्रिकरणलाई प्रवद्र्धन गर्न साथ, सहयोग गर्ने प्रतिवद्धटता थपिएको छ।” 

कुटो कोदालोदेखि थ्रेसरलगायतका ठूला मेसिन, थोपा सिंचाइदेखि देखि ड्रोनसमेतका नयाँ प्रविधि प्रदर्शनीमा राखिएको थियो । “हालसम्म विश्वभर र नेपालमा कृषिका लागि उपयोगी कस्ता कस्ता प्रविधि विकास गरिएका छन्, कति उपयोगी छन्, कसरी उपयोग गर्न सकिन्छ, कति मूल्य पर्छ जस्ता जिज्ञासा प्रदर्शनीले मेटाउन सफल भएको छ,” सलोम एग्रिकल्चरका संचालक श्रीकृष्ण अधिकारीले भने, “नेपाल सुहाउदो कृषि यन्त्र आयात, निर्माण र कृषकसम्म पुर्याउन मेलाले धेरै मद्दत गरेको छ।” 

प्रदर्शनीको प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी लि. र मुक्तिनाथ विकास बैंक रहेका थिए । सहप्रयोजकमा एनटीएस इन्डष्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एण्ड सन्स ट्रेड, नेपाल चाइना एग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँ तुल्सी ग्रुप र द हाबी अटो ट्रेडिङ रहेको महासंघका सचिव झमक प्रसाद घिमिरेले बताए।

मेलाका सहयोगी संस्थाहरुमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन रहेका थिए । मेलाको सञ्चार संयोजन एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र नेपाल कृषि पत्रकार महासंघ तथा इभेन्ट संसारले मेलाको व्यवस्थापन गरेको थियो।