आजदेखि बफेली हाइड्रोपावरको आइपीओमा आवेदन खुल्यो


काठमाडौं । बफेली हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आजदेखि साधारण सेयर आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले दोस्रो चरणमा चुक्ता पुँजीको १० प्रतिशत साधारण सेयर आज देखि निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको छ ।

कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ७३ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।

यो आईपीओको निष्कासन बन्द छिटोमा चैत २१ गते हुनेछ । यो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा चैत ३० गतेसम्म आईपीओमा आवेदन दिन पाइनेछ ।

कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक क्षेत्रका स्थानीयका लागि गत माघ २७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्कासन गरिसकेको छ ।