कोभिडको संक्रमणबाट गुज्रिरहेको अर्थतन्त्र अहिले उठिराखेको छः मन्त्री कार्की


काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कृषि, पर्यटन, जलविद्युतका क्षेत्रमा भोग्नुपरेको आर्थिक, सामाजिक, प्रशासनिक विषयमा सिइओहरुले छलफल गरेर त्यसको निचोड निस्कनेमा विश्वस्त भएको बताएका छन् ।

शुक्रबार व्यवस्थापन संघ नेपालले गरेको सिइओ सम्मलेन कार्यक्रममा मन्त्री कार्कीले समस्याहरु के के छन् त्यो सबै छलफल गरेर सम्बन्धित निकायमा राय बुझाउन आग्रह गरेका हुन् । उनले उद्यमशिलता, प्रविधि लगायतका विषयमा छलफल गरेर यसको समाधान खोज्न सिईओहरुलाई आग्र्रह गरेका हुन् ।

मन्त्री कार्कीले कोभिडको संक्रमणबाट गुज्रिरहेको अर्थतन्त्र अहिले उठिराखेको बताएका छन् । आर्थिक क्षेत्रमा अगाडी बढ्नको लागि सरकार निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले भने,“हामीसँग स्रोत साधन, दक्ष जनशक्ति छ । यसको प्रयोगबाट नेपाललाई आत्मनिर्भर बनाउन जरुरी छ । हामीले दक्षिण एसियामा खुल्ला अर्थतन्त्रको परिकल्पना गरेको छौं । त्यसलाई सफल बनाउन सिईओहरुको मुख्य भुमिका रहन्छ ।”
विभिन्न कठिनाईको समाधान गर्न तारे होटलमा गोष्ठी र सेमिनार नगरि त्यसलाई समाधान गर्न तर्फ लाग्नुपर्ने मन्त्री कार्कीले बताए । उनले १० वर्ष भित्र देशलाई धनि बनाउन सबै एक भएर अगाडी बढ्नुपर्ने बताएका छन् ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नेपाल सरकारले खोप प्राथमिकतामा राखेपछि अर्थतन्त्र डाइनामिक रुपमा अगाडी बढेको बताएका छन् । कोभिडको कारणले बन्दा भएका डेड दुई वर्ष बन्द भएपछि खुलेकाहरु अहिले पुनरुत्थान भइराखेको बताए ।

उनले देश श्रीलंकाको अवस्था पुग्न नलागेको बताएका छन् । उनले भने,“खर्च गर्ने प्रवृति बढेर आयात बढेपछि अहिले केहि प्रेसर छ । श्रीलंकाको जस्तो हुन लाग्यो भन्ने गलत भएको हो । त्यस्तो अवस्था छैन । अहिले अलिकति पुनरुत्थानको कारणले प्रेसर छ । श्रीलंककासँग दाँज्न हुँदैन ।”

अर्थसचिव मरासिनीले कार्यक्रममा उपस्थित सिईओहरुलाई स्वदेशी कच्चा पदार्थबाटनै उत्पादन गर्न अनुरोध गरेका छन् । उनले भने,“हाम्रै स्रोत साधनको उपभोग गर्यो भने पुनरुत्थान गर्नको लागि गाह्रो छैन ।”

संघका अध्यक्ष किरण कुमार श्रेष्ठले अहिले नेपालमा देखिएको चुनौतीको समाधान खोज्नको लागि सिइओ सम्मेलन गरेको बताए । सम्मेलनमा छलफल गरेर नेपालमा कसरी गर्न सकिन्छ भन्ने निचोड निकालेर सम्बन्धित निकायमा गएर त्यसको प्रतिवेदन बुझाउने उनले बताए ।