देशको अर्थतन्त्र गम्भिर संकटमा भनेर गलत प्रचारबाजी गरियो : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले देशको अर्थतन्त्र गम्भिर अवस्थामा पुगेको भनेर गलत प्रचार गरिएको बताएका छन् ।

अर्थमन्त्रालयमा सोमबार (आज) आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले जनता र व्यवसायीलाई हतोत्साहित पार्ने गरि देशमा आर्थिक संकट उत्पन्न भएको भनेर गलत प्रचारबाजी गरिएको बताए ।

अर्थतन्त्रका सूचकहरु सार्वजनिक गर्दै अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ । अर्थमन्त्री शर्माले भने ‘अर्थतन्त्रमा संकट आएको भन्ने गलत हो । देशमा के के न हुुन लाग्यो भन्ने ढङ्गले प्रचार भइरहेको छ । तर अर्थतन्त्रलाई आफ्नै नियमित गतिमा चल्न दिनुपर्छ । अर्थव्यवस्थाको राजनीतिकरण गरेर देशलाई फाइदा कुनै हुँदैन ।’

वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढेर अर्थतन्त्रमा दवाव सिर्जना भएको हुनाले आयात र निर्यात अघिल्लो आवको तुलनामा ३३.९ प्रतिशत र ७२.८ प्रतिशत बढेको अर्थमन्त्री शर्माले बताए ।

अर्थमन्त्री शर्माले घट्दो विदेशी मुद्रा सञ्चिती बढाउन बैंकमार्फत रेमिट भित्र्याउने, बिलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको वातावरण तयार गर्ने, वदैशिक सहायताको शोधभर्ना समन्वय प्राप्त गर्ने, पूँजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने लगायतका विषयमा समेत काम भइरहेको जानकारी दिए ।