निजीक्षेत्रका समस्या छलफल गरेर समाधान गर्नुपर्छ : सभामुख सापकोटा


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निजी क्षेत्र र सरकार बिच भएका समस्या छलफल, संवाद सहकार्य गरी समाधान गर्नुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा भएको कार्यक्रममा सभामुख सापकोटाले जति ठुलो समस्या त्यतिनै धेरै छलफल गरेर समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले भने, “उन्नतिको लागि लालायित छौं भने छलफल गर्नै पर्छ, त्यो नगरी हुँदैन । एक दिनमात्रै होइन निजी क्षेत्र र सरकार दिनदिनै छलफल गरेर निष्कर्ष निकाल्नु पर्छ ।” सभामुख भएको नाताले आफ्नो भूमिका निर्वाह गर्न तयार रहेको सापकोटाले उल्लेख गरेका छन् ।

उनले नीति तथा कार्यक्रम कार्यान्वयन नभएकोले समस्या भएको बताए । उनले भने, “गुणस्तरीय कानुन निर्माण मात्र नभइ त्यसको कार्यन्वयन भएको छ कि छैन त्यो पनि हेर्नुपर्छ ।”

सभामुख सापकोटाले निजी क्षेत्रलाई देश प्रति इमान्दार भएर अगाडि बढ्न आग्रह गरेका छन् ।

विश्वमा भइराखेको हिंसाबारे सभामुख सापकोटाले शान्तिको लागि नेपालबाट आवाज उठाउनुपर्ने बताए । उनले भने,”गौतम बुद्धको देश नेपाल भएको विश्व शान्तिको लागि नेपाल बाट आवाज उठाउनुपर्छ ।”

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोभिडपछि पर्यटन मा देखिएको उत्साहले विदेशी मुद्रामा केही सहयोग पुग्ने बताएका छन् । ढकालले नेपालको अवस्था श्रीलंका जस्तो नहुने आकंलन गरेको बताएका छन् ।

उनले भने, “अहिले नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा नपुग्ने आत्मविश्वास रहेको छ । त्यसो भन्दैमा छोड्नुपर्ने पनि होइन । त्यस को लागि सबै पक्ष लाग्नुपर्छ । समस्याको पहिचान गरेर त्यसको समाधानमा लाग्नुपर्छ ।”

भुकम्प र कोभिडले नेपालको अर्थतन्त्र धेरै धरासायी बनाएकोले यसबाट बच्न सरकारको हात चाहिन्छ उनले भने ।

ढकालले ठूला क्षेत्रलाई मात्र होइन साना क्षेत्रलाई उत्पादन प्रवद्र्धन गर्न सरकारसँग माग गरेका छन् । स्थानीय उत्पादनले पर्यटनमा पनि विकास हुने भएकाले त्यसको प्रवद्र्धन गर्नुपर्ने उनले उल्लेख गरेका हुन् ।