फागुन महिनामा उपभोक्ता मुद्रास्फिती ३.८४ प्रतिशतले बढ्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो ८ महिनाको आर्थिक स्थितिको विवरण सार्वजनिक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिती ७ दशमलब १४ प्रतिशत रहेको जनाएको छ ।

अघिल्लो वर्षको यसै समयमा यस्तो मुद्रास्फिती ३ दशमबल ३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ फागुनमा यी क्षेत्रहरुमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४०
प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गत वर्ष फागुन महिनाको तुलनामा यस वर्ष फागुन महिनामा विन्दुगत थोक मुद्रास्फीति ६.८३ प्रतिशतले बढेको छ । २०७८ फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.१३ प्रतिशत रहेको भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.३० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकाे छ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १५.०४ प्रतिशत, १२.९९ प्रतिशत र ७.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २४.२४ प्रतिशत रहेको छ ।