चालू आर्थिक वर्षको आठ महिनामा धितोपत्र बजारमा थपिए ११ कम्पनी


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा धितोपत्र बोर्डमा नयाँ ११ वटा कम्पनी थपिएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत फागुनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२८ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६ प्रतिशत रहेको छ भने जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.३ प्रतिशत रहेको छ ।

गत वर्ष फागुन मसान्तको तुलनामा यो वर्षको नेप्से परिसुचक पनि माथि रहेको राष्ट्र बैंकको तथ्याकं रहेको छ । गतवर्ष २४५८.५ रहेको नेप्से सूचकाङ्क चालू आर्थिक वर्षको फागुन मसान्तमा सूचकाङ्क २६६८.१ पुगेको राष्ट्रबैंकले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ फागुनसम्ममा सूचीकृत ६ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु.६५१ अर्ब २१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनासम्ममा रु.४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, रु.३७ अर्ब १६ करोड बराबरको बोनस शेयर, रु. २९ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र, रु.१७ अर्ब ८३ करोड बराबरको साधारण शेयर, रु.९ अर्ब १८ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.१४३ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकको तथ्याकं सार्वजिक गरेको छ ।

चालू वर्षको पहिलो आठ महिनामा नेपाल धितोपत्र बोर्डले रु.४ अर्ब ८० करोड बराबरको डिबेन्चर, रु.३ अर्ब ११ करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब बराबरको म्युचुअल फण्ड र रु.२ अर्ब ८४ करोड बराबरको साधारण शेयर गरी कुल रु.१३ अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।