फस्टाउदै निर्जीवन बिमा, खाँचाे ‘बिमा कल्चर’ प्रवर्द्धनकाे


नेपालका धेरैजसो जनसंख्यासम्म बिमाको पहुँच अझै पनि नपुगेको र पुगेपछि त्यसको सदुपयोग हुने देखाउँछ । मोफसलको कुरा छोडौं र काठमाडौंकै धेरै जनसंख्या पनि यसको शिक्षा र पहुँचभन्दा बाहिर छन् ।

अनिल न्यौपाने 

पश्चिम नेपालका धिरेन्द्र सञ्ज्याल काठमाडौंको टोखामा गाईपालन गर्छन् । उनी गाई खरिद गर्दा एकदेखि डेढ लाख रुपैयाँ खर्च गर्छन् । तर, त्यही गाई बिरामी प-यो वा म-यो भने गाईको मूल्य जति नै भुक्तानी बिमामार्फत् पाउँछन् । 

करिब चार वर्ष अघिदेखि गाईपालनमा लागेका उनी पहिलो वर्ष विभिन्न कारणले चार गाई मरेपछि घाटामा गइयो भन्दै चिन्तित बने । तर, पछिल्लो वर्ष ऋण सापटी लिएर थप सातवटा गाई थपेका उनलाई पशु चिकित्सकले बिमा गर्न सल्लाह दिए । डाक्टरको सल्लाहपश्चात् उनले सातवटा गाईको एक लाख २० हजारका दरले प्रत्येकको बिमा गरे, जसमा प्रिमियम उनले प्रतिगाई एक हजार तीन सय रुपैयाँ मात्रै तिरे । 

यसो हुँदा गाई मर्दा उनले एक लाख २० हजार रुपैयाँ बिमावापतको रकम पाए र सोही पैसाले पुनः नयाँ गाई खरिद गरे । हाल सञ्ज्यालले १० वटा गाई पालेका छन् । उनले गाईको, खोरको, टहराकोसमेत बिमा गरेका छन् । उनलाई तीन वर्ष पहिले बिमाको बारेमा राम्रो ज्ञान पनि थिएन । तर, पशु चिकित्सकले गाईको बिमा गर्दा मरी–भागी भएपछि पैसा पाइने भनेपछि यसप्रति आकर्षित भएको उनी बताउँछन् । 

यसले नेपालका धेरैजसो जनसंख्यासम्म बिमाको पहुँच अझै पनि नपुगेको र पुगेपछि त्यसको सदुपयोग हुने देखाउँछ । मोफसलको कुरा छोडौं र काठमाडौंकै धेरै जनसंख्या पनि यसको शिक्षा र पहुँचभन्दा बाहिर छन् । नियामक निकायको कमजोरी भनौं या उचित प्रचारप्रसार हुन नसकेर, नेपालका धेरैजसो क्षेत्रहरू बिमाको दायराभन्दा बाहिर छन् । 

सरकारले मोटर र तेस्रो पक्ष बिमाबाहेक अन्य प्रकारका बिमा अनिवार्य गरेको छैन, जसका कारण धेरैजसो मानिसमा बिमाको कल्चर बस्न नसकेको बताउँछन्, बिमा विज्ञ भोजराज शर्मा । 

विदेशमा जस्तो बिमाको संस्कार नबसेसम्म अर्थात् त्यस्तो वातावरण बनाउन नसकेसम्म नेपालमा बिमाको दायरा बढाउन नसकिने उनको भनाइ छ । 

बिमा समितिको तथ्यांकलाई आधार मान्दा पछिल्लो ६ वर्ष अर्थात् भूकम्पयता मात्रै निर्जीवन बिमाको दायरा उल्लेख्य अनुपात बढेको देखिन्छ । बिमाशुल्क संकलन मात्रै ६ वर्ष अघिको तुलनामा झन्डै १५ अर्ब रुपैयाँले बढेको छ । भूकम्पताका अर्थात् आर्थिक वर्ष २०७२/०७३ मा निर्जीवन बिमा कम्पनीहरूले जम्मा १५ अर्ब चार करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए । 

यसरी बिमाको दायरामा भूकम्प पश्चात केही बढेको देखिए पनि भनेजति नभएकोप्रति बिमा विज्ञ र सरोकारवाला चिन्तित छन् । पछिल्लो समय केही सुधार आए पनि सोचेको जति अझै प्रगति हुन नसकेको बिमा समितिका प्रवक्ता राजुरमण पौडेल बताउँछन् । 

निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमाससम्ममा तीन अर्ब ६७ करोड १२ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन् । कम्पनीहरूले २०७८ पुसमा दुुई लाख ६१ हजार ६ सय ८७ वटा बिमालेख जारी गरी सो बराबरको व्यवसाय गरेका हुन् । कम्पनीहरूले मोटर बिमाबाट मात्रै यस अवधिमा एक अर्ब ४५ करोड १६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।

समितिका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा निर्जीवन बिमाको बजार संकीर्ण थियो । त्यसबेला सबै निर्जीव बिमा कम्पनको बिमाशुल्क जम्मा ११ अर्ब ४३ करोड ९३ लाख रुपैयाँमा सीमित थियो । तर, त्यसको पछिल्लो वर्ष २०७२÷०७३ मा सबै निर्जीवन बिमा कम्पनीले १५ अर्ब चार करोड ६ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरे । त्यसबेला निर्जीवन बिमा कम्पनीको संख्या पनि जम्मा १७ मात्रै थियाे। 

अहिले नेपाली बिमा बजारमा २० कम्पनीले निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । गत आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुले कुल ३१ अब ७० करोड रुपैयाँ बराबर बिमाशुल्क संकलन गरेका थिए । यो अघिल्लो आव २०७६/०७७ को तुलनामा २२.७४ प्रतिशतले बढी हो भने भूकम्प आएको वर्ष २०७१/०७२ को तुलनामा २० अर्ब रुपैयाँले बढी हो । अघिल्लो वर्ष नेपालका निर्जीवन बिमा कम्पनीले २७ अर्ब ५७ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए । 

निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २१ अर्ब ८१ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरिसकेका छन्। चालू आवमा निर्जीवन बिमा शुल्क गत वर्षको यही अवधिको तुलनामा २२.१२ प्रतिशतले बढाएका हुन् । गत आवको माघ मसान्तसम्ममा निर्जीवन बिमा शुल्क कुल १७ अर्ब ८६ करोड रुपैयाँ उठेको थियो । 

आर्थिक वर्षको पहिलो सात महिनालाई हेर्दा निर्जीवन बिमालेखको संख्या भने त्यसअघिको वर्षको तुलनामा ४.४२ प्रतिशतले घटेको देखिन्छ । गत वर्ष माघ मसान्तसमा १७ लाख ७४ हजार १ सय ३८ रहेको बिमा लेख यस वर्षको सात महिनामा करिब १६ लाख ९६ हजार छ । 

पछिल्लो समय यसरी बिमा शुल्क आर्जन बढ्नुमा महत्वपूर्ण भूमिका बिमा समितिकै भएको समितिका प्रवक्ता राजुरमण पौडेल बताउँछन् । उनका अनुसार पछिल्लो पाँच वर्षमा बिमा समितिले गरेको तदारुकताका कारण बिमा सेवा तीव्र विस्तार भइरहे पनि भनेबमोजिम भने भएको छैन । अहिलेकै तथ्यांकलाई हेरेर चित्त बुझाउने बाटो अझै नरहेको उनको भनाइ छ । 

“पछिल्लो पाँच वर्षमा उल्लेख्य प्रगति त भयो तर अझै हामी सन्तुष्ट छैनौं,” उनले भने, “यही तथ्यांकलाई देखाएर वा हेरेर चित्त बुझाउन पनि सकिँदैन, किनकि हामीले सोचेको जति पनि बिमाको दायरा बढ्न सकेको छैन ।”

उनी बिमा क्षेत्रका दायरा बढाउन अब समितिले मात्रै नभएर स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिन्छन् । स्थानीय तहका हुने सानातिना घटनादेखि सरकारका सम्पत्ति, स्थानीयको घरटहरा, बाली तथा पशुपंक्षीको बिमा गर्नतिर लाग्नुपर्नेमा उनको जोड छ । बिमा क्षेत्रमा आबद्ध बिमितहरूको ‘बिमा कल्चर’ नै बस्नुपर्ने उनी बताउँछन् । 

मानिसमा ‘बिमा कल्चर’ बसाउनका लागि महाभूकम्पले ठूलो योगदान दिने प्रक्षेपण गरिएको थियो । सोहीअनुसार केही परिवर्तन भने भयो तर यस क्षेत्रको विस्तार जति हुनुपर्ने थियो त्यो हुन सकेको देखिँदैन ।

बिमा समितिले हाल जीवन बिमाको दायरा कुल जनसंख्याको ३५ प्रतिशतसम्म पुगिसकेको जनाएको छ । यसलाई समितिले महाभूकम्पकै उपलब्धि मानेको छ । 

२०७२ सालमा गएको महाभूकम्पका बेला नेपालमा झण्डै सात खर्ब ६ अर्ब रुपैयाँ बराबरको भौतिक र मानवीय क्षति भएको थियो । त्यसमध्ये बिमा भने धेरै कम मात्रै भएको थियो । भूकम्पका कारण विभिन्न बिमा कम्पनीमा १५ अर्ब ९१ करोड ८२ लाख रुपैयाँ बराबरको मात्रै दाबी परेको थियो । यो भनेको कुुल क्षतिको जम्मा दुुई प्रतिशत मात्रै हो । उक्त दाबीमध्ये १३ अर्ब २६ करोड ५ लाख रुपैयाँ अर्थात कुल दाबीको ८३.३० प्रतिशत भुक्तानी भएको थियो । 

(टक्सार म्यागजिन, चैत २०७८ मा प्रकाशित)

सम्बन्धित सामग्री

‘बिमा कल्चर’ बसाल्न शिक्षा विस्तार बढाउन जरूरी छ (अन्तर्वार्ता)