‘बुलिस ट्रेन्ड’ को मध्यावधिमा सेयर बजार


सेयर बजारको विगत २७ वर्षदेखि यताको इतिहास हेर्दा भने हरेक बुलिस् ट्रेन्ड र बियरिस ट्रेन्डमा औसत ४ वर्षको समयावधि रहेको देखिन्छ । 

सेयर बजारमा बुल सकिएको आकलन गरिए पनि अहिले बजार ‘बुलिस ट्रेन्ड’को मध्यावधितिर चलिरहेको छ । सेयर बजारमा विगत २७ वर्ष यताकोे बुलिस र बियरिस टन्डलाई हेर्ने हो भने बजार अझै २ वर्ष बुलिस ट्रेन्डको चरणमै रहने देखिन्छ । पुँजी बजारको बढ्दो गतिलाई ‘साँढेको चाल’ अर्थात् बुलिस र घट्दो गतिलाई ‘भालुको चाल’ अर्थात् बियरिस ट्रेन्ड भन्ने गरिन्छ ।

बजारमा एकथरि लगानीकर्ताहरूले ८ महिना यताको बजारको घट्दो गति (बियरिस)लाई हेरेर साँच्चिकै ‘बुलिस् ट्रेन्ड’ सकिएको ठहर गरेका छन् भने अर्काथरी व्यक्तिले सेयरबजारमा वास्तविक बुल त आउनै बाँकी रहेको ठहर गर्दै सेयर खरिद गरेर बसेका छन् । 

सेयर बजारमा गत वर्षदेखि चलेको बुलिस ट्रेन्डको सुरुवातमै बजारमा उच्च अंकको वृद्धि भयो । एक वर्षको समयावधिमा सेयर बजारमा झण्डै २१ सय अंकको उछाल आयो । 

सेयर बजारमा बियरिस ट्रेन्ड जस्तो गतिमा हुन्छ बुलिस ट्रेन्ड पनि उस्तै गतिमा हुन्छ भन्ने विश्लेषकहरूको भनाइ पनि गलत सावित भइदियोे,जसको कारण थियो,अनलाइन (टीएमएस)मार्फत सेयर कारोबार । 

सेयर किन्नको लागि ब्रोकर हाउस जानुपर्ने बाध्यता अन्त्य भई अनलाइनमार्फत कारोबार हुँदा दोस्रो बजारमा सेयर प्रवेश गर्नेको संख्या ह्वात्तै बढ्यो । लकडाउनका कारण देशका अर्थतन्त्रका अन्य क्षेत्रहरू बन्द भएको अवस्थामा सेयर बजार चलायमान थियो । व्यक्ति तथा संघसंस्थाको आयआर्जनको एकमात्र माध्यम सेयरबजार बनेको हुनाले छोटो समयमै नेप्से परिसूचकमा उछाल आयो । 

विगत २७ वर्ष यताको तथ्यांक हेर्न हो भने अहिलेको बजारको घट्ने क्रमलाई बुलको बीचमा आउने सानातिना करेक्सन मान्न सकिन्छ । महामारीकै बीच उक्लिएको नेप्से परिसूचकको ग्राफ देखेर सेयर बजारमा प्रवेश गरेका लगानीकर्ता बजारबाट निस्किन नसकेर आत्तिए पनि केही समय धैर्य गर्नुपर्ने विज्ञहरू बताउँछन् । गत भदौ २ गते ३१९८ अंकमा पुगेर नयाँ कीर्तिमान कायम गरेको नेप्से परिसूचक मंसिरको अन्तिम सातामा झण्डै २२ सय अंकको हाराहारीमा झरेको थियो । 

गत माघको पहिलो साता २९ सय अंक नाघेर केही राहत दिएकोे नेप्से परिसूचक चैतको अन्तिम सातादेखि पुनः २३ सय अंकको हाराहारीमा झरेसँगै केही विश्लेषक तथा लगानीकर्ताले बजार बियरिस बनेको बताउँदै आएका छन् । 

सेयर बजारको प्रमुख विशेषता भनेकै घट्नु र बढ्नु भए पनि पछिल्लो समय बजार उच्च अंकको बढाइसँगै गिरावट पनि उच्च हुने हुनाले सेयर बजार अस्थिर बनेको छ । विगत ८ महिना यता देखिको समयलाई हेरेर सेयर बजार बियरिस ट्रेन्डमा गएको हल्ला र आकलन गरिए पनि बजार अझै बुलिस ट्रेन्डमै रहेको सेयर विष्लेषक विष्णु बस्याल बताउँछन् । 

“अल्प–अवधिको लागि बजार बियरिस त भएकै हो,” बस्याल भन्छन्, “बजारमा बुल मार्केट सकिएको छैन, यो छोटो समयको लागि मात्रै बजारमा करेक्न आएको मात्रै हो । अबको एक डेढ महिनाभित्र राम्रो बुल मार्केट सुरु हुन्छ भन्ने हामीले आशा गर्दा हुन्छ ।”

बस्याल नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनले सेयरबजारमा त्यस्तो खासै ठूलो असर नपार्ने बताउँछन् । “निर्वाचनले अर्थतन्त्रको आधारभूत अवस्था ठिक पार्ने होइन, अहिले बजारमा देखिएको बियरिस अवस्थाको मुख्य कारण भनेको देशको अर्थतन्त्रमा देखिएको आधारभूत समस्या हो, त्यसैकारणले बजारले नकरात्मक रेस्पोन्स गरेको हो,” बस्याल भन्छन् “जति निर्वाचनमा बजार बढ्ला भन्ने हल्ला गरिए पनि पछिल्लो ४ वटा निर्वाचनको इतिहास हेर्दा २ वटा निर्वाचनमा बजार बढ्यो भने २ वटा निर्वाचनमा घटेको देखिन्छ, त्यसैले निर्वाचनका कारण बजार बढ्ने कुरा निराधार हुन् ।” 

बुल मार्केटकै अवधिमा पनि कतिपय अवस्थामा ८÷१० महिनाको छोटो अवधिको बियरिस हुने गर्छ । यसभन्दा अघि पनि सन् २०१२ देखि २०१६ सम्मको बुल मार्केटमा पनि २०१४को जुलाईदेखि मे महिनासम्म १० महिना बजार बियरिस बनेको थियो । 

औसत ४ वर्षे बुल मार्केटको बीचमा आएका केही करेक्सनहरू हुन्, यसलाई स्वभाविक लिनुपर्ने हुन्छ । अहिले बजारमा २८ देखि ३० प्रतिशत करेक्सन भइसकेकोले अब सेयर बजारले उकालो यात्रा तय गर्ने विश्लेषक बस्यालले बताए ।  

कुनै समय ३२ सयको उच्चतम विन्दु छोएको सेयर बजार २२ सय न्यूनतम विन्दुमा झर्दा लगानीकर्ताको करोडौंको सम्पत्ति गुमेको छ, बजार मूल्य र पुँजीकरणकै आधारमा हेर्दा बजारले अर्बौं गुमाएजस्तो देखिन्छ । यसबीचमा नियामक निकायमा नेतृत्वविहीन हुँदा र राष्ट्रबैंकबाट बेला बेलामा जारी हुने नीतिका कारण बजार प्रभावित बन्ने गरेको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ कोे मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर कर्जामा ४÷१२ को सीमा लगाएपछि बजारको ओरालो यात्रा सुरु भएको हो । सेयर बजारमा सरकार र नियामक निकायहरूले नीति–नियम निर्देशन जारी गर्दा सही समय बजारको वस्तुस्थितिलाई हेरेर मात्र ल्याउनुपर्ने जानकारहरू बताउँछन् ।  

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा ४÷१२ को सीमारेखालाई मोड्छ भन्ने अधिकांश लगानीकर्ताहरूको आशा–भरोसा थियो तर उसले आफ्नो नीति परिवर्तन गरेन । यसले सेयर बजारले ठूलै नोक्सानी बेहोर्नुप¥यो ।

बुझेर होस् या अरुले भनेको सुनेर सेयर बजारमा लगानी गरेर अहिले टाउकोमा हात लाएर बस्नेको जमात निकै ठूलो छ । यसरी लगानी जोखिममा पर्नेमा कोरोनाकालमा भित्रिएका नवप्रवेशी लगानीकर्ताहरू नै धेरै रहेको बजार विश्लेषकहरूको ठहर छ ।

अहिले अर्थतन्त्रका सूचकहरू केही नकरात्मक देखिए पनि सेयर बजारको बुल मार्केट नसकिएको र वास्तविक बुल आउनै बाँकी रहेको नेपाल इन्भेन्र्टस फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । 

“सेयर बजार बढ्दाजस्तो गतिमा बढ्छ घट्दा पनि उस्तै गतिमा घट्छ,” ढकालले भने “यसभन्दा अघि बजारले बियरिस ट्रेन्डको समय पार गरेर गत वर्षदेखि पुनः बुलिस टेन्डमा प्रवेश गरेको छ । मार्केटमा बुलको सुरुवात हुने वित्तिकै छोटो अवधि (१४ महिना)मा सेयर बजार उचाइमा पुग्नुको पनि धेरै कारण छन्, जसमध्ये कोभिडका कारण भएको लकडाउन र अनलाइन मार्फत सेयर कारोबार हुनु हो ।” 

पुँजी बजारले ३२ सयको उचाइ छुँदा पनि सबै क्षेत्रका सूचक बढेका छैनन्, जलविद्युत्, बिमा कम्पनी र अलिकति विकास बैंकहरू मात्रै बढे भने बजारमा ठूलो हिस्सा ओगटेको वाणिज्य बैंक, बिमा र लघुवित्त कम्पनीका सूचक खासै नबढेको ढकाल बताउँछन् । 

“सेयर बजारले नयाँ कीर्तिमानी कायम गर्दासम्म बजार क्षेत्रगत रूपमा बढेको थियो, विस्तारै अन्य सेक्टरहरू पनि बढ्ने अवस्थामा थिए तर नियमाक निकायको नीतिका कारण ‘मार्केट फ्ल्याट’ भयो,” ढकालले भने “राष्ट्र बैंकले मार्जिन प्रकृतिको ऋण ४–१२ को सीमा लगायो जसले गर्दा २ अर्बसम्म ऋण लिएका लगानीकर्ताले ऋण बढाउन सक्ने अवस्था रहेन, भएको ऋण तिर्दै घटाउँदै जानुपर्ने भयो, जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखियो ।” 

स्थानीय तहको चुनाव पनि नजिकएको हुनाले राज्यले गर्ने खर्चसँगै उम्मेदवारहरूले पनि खर्च बढाउँछन् जसले गर्दा दूरदराजमा रहेको पैसा बैंकिङ च्यानलमा आउने हुनाले अब सेयर बजारमा विस्तारै सकरात्मक संकेत देखिने ढकालको विश्वास छ । 

चालू आर्थिक वर्ष अन्त्य हुन अन्तिम ३ महिना बाँकी रहेको, राज्यले पनि ठूल्ठूला आयोजनाहरूलाई भुक्तानी पनि अन्तिम समयमा गर्ने हुनाले पुँजीगत खर्च पनि बढ्ने र त्यसको असर बजारमा देखिने भन्दै ढकालले बैंक तथा वित्तीय संस्थाहरूले पनि ९ महिनाको वित्तीय विवरण सार्वजनिक गर्नेे हुँदा २०७८ चैत २३ गते नै अन्तिम ब्रेक रहेको जिकिर गरे । 

ढकालले विगत देखिको बुल मार्केटको टे«न्डलाई हेर्दा अहिले २२ महिनामा रहेको हुनाले अब छिट्टै वास्तविक बुलसँगै नेप्सेले नयाँ उचाइ छुने विश्वास व्यक्त गरे । 

नेपालको पुँजी बजारमा तरलताले विशेष प्रभाव पारेको देखिन्छ । बैंकिङ प्रणालीमा तरलताको चाप पर्दा बजार घट्ने गरेको देखिन्छ । जब बैंकमा तरलता बढी हुन्छ, उनीहरू सस्तो ब्याजदरमा सेयर कर्जा दिन थाल्दछन्, ठूला लगानीकर्ता त्यसको प्रयोग गर्छन्, जसले कारोबार बढी हुन्छ र बजार बढ्छ, तर जब तरलता संकट आउँछ, बैंकहरूले निक्षेप बढाउन व्याजदर बढाउने र कर्जा दिन नसक्ने अवस्थामा पुग्छन् तब सेयर कारोबार घट्ने गरेको छ । 

अहिलेको अवस्थामा देशको अर्थतन्त्र नै संकटमा देखिएको छ, तरलता अभाव चरम अवस्थामा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिन बन्द गरेको महिना भइसक्यो । यस्तो अवस्थामा केही समय बजारले नकारात्मक प्रतिक्रिया जनाउनु स्वभाविक रहेको बजार विज्ञहरू बताउँछन् । 

नियामकीय निकाय नेपाल धितोपत्र बोर्डको प्रमुख, नेपाल स्टक एक्सचेन्ज र नेपाल राष्ट्र बैंक पनि सेयर बजारप्रति नकारात्मक नै रहेका लगानीकर्ताले आरोप लगाउँदै आएका थिए । 

नियामक निकायहरूको नीति–नियम, निर्देशनका साथसाथै सेयर बजारमा हुने गरेको चलखेलले पनि लगानीकर्ताहरूको आत्मबल कमजोर हुन हुने र आत्तिएर हतारमा सेयर बेच्दा बजार ओरालो लागेको जानकारहरू बताउँछन् । 

सेयर बजारप्रति नकरात्मक भएको आरोप लागेका ३ वटै निकायका प्रमुखहरू फेरिएका छन् । सर्वोत्तम सिमेन्टको भित्री कारोबारमा संलग्न रहेका धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेपछि अहिले रमेश हमालले बोर्डको जिम्मेवारी सम्हालेका छन् । त्यस्तै भित्री कारोबार संलग्न नेप्सेका तत्कालीन सीइओ चन्द्रसिं साउदले पनि राजीनामा दिएपछि अहिले कृष्णबहादुर कार्कीले नेप्सेको नेतृत्व सम्हालेका छन् । 

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको छ । यसरी नियामकीय निकायको नेतृत्वमा नयाँ अनुहार आएसँगै सेयर बजारप्रति सकारात्मक रहने विश्वास लगानीकर्ताले गरेका छन् । 

(टक्सार म्यागजिन, वैशाख २०७९, पृष्ठ १३ देखि १५)