सेयर बजार सुधारकाे माग गर्दै तीन दिनदेखि अनसनमा, अनसन ताेड्न बाेर्ड अध्यक्षकाे अनुराेध


ललितपुर। नेपाल धितोपत्र बोर्डका कार्यवहाक कार्यकारी निर्देशक विनयदेव आचार्यले तीन दिनदेखि अनशनरत लगानीकर्ता तिलक कोइरालालाई अनशन टुङ्गाएर सहयोग गरिदिन आग्रह गरेका छन् ।

अनशनरत कोइरालालाई भेटेर कार्यकारी निर्दैशक आचार्यले भने, “तपाईहरु पनि बजारको विकासको लागि अनशन बस्नु भएको छ हामीहरु पनि बजारको विकासकै लागि काम गरिरहेका छौं, त्यसैले हामीसबै हातेमालो गरेर बजार विकासको लागि अगाडी बढ्नुपर्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै अनशन टुंग्याएर सहयोग गरिदिन आग्रह गर्दछौ ।”

आचार्यले लगानीकर्ताले राखेको मागपत्र अर्थमन्त्रालय र राष्ट्र बैंकमा पठाइसकेको बताए । आचार्यले लगानीकर्ताहरुका मागप्रति आफूहरु सकारात्मक रहेको भन्दै लगानीकर्ताको समस्या कसरी समाधान गर्ने भनेर अर्थमन्त्रालयसँग सहकार्य भइरहेको जानकारी दिए ।

”अहिले अर्थमन्त्रालयले गठन गरेको सुझाव समितिको संयोजक मलाई तोकिएको छ,” आचार्यले भने, “सदस्य सचिव पनि बोर्डबाट नै हुनुहुन्छ, अब अर्थमन्त्रालय र राष्ट्र बैंकबाट प्रतिनिधि आएपछि एक दुई दिनमै बैठक बस्छौँ ।”

उता कोइरालाले भने अर्थमन्त्रालयले अर्थसचिवको संयोजकत्वमा कार्यन्वयन समिति गठन गरेर आजको आजै कायान्वयन गर्न सकिने १५ वटा माग पुरा गरे मात्रै अनशन तोडिने बताए ।

”उदारो सम्झौता र बाहनाबाजीमा अल्झेर आन्दोलन छाेड्दैनाैं’ काेइरालाले भने, ”धितोपत्र बोर्डको संयोजकत्वमा बनेको समितिलाई हामीले मान्यता नदिने र अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा बन्ने वार्ता समितl वा कार्यान्वयन समितlसँग मात्र वार्ता गर्छौ ।”

तीन दिनदेखि अनसनरत कोइरालाको स्वास्थ्यमा समस्या देखिएको चिकित्सकले बताए । उपचारमा संलग्न डा. अजितका अनुसार सुगर र ब्लड प्रेसर घटेकोले समस्या देखिएको छ ।

“सुगरको बिरामी भएको हुनाले सुगरको औषधी छोड्नु हुँदैन त्यसैले अहिले हामीले स्लाइनबाट औषधी चलाएका छौं” डा. उनले भने ।