सेयरबजारमा निरन्तर गिरावट, ३७ अंकले घट्यो नेप्से


काठमाडौं । साताको कारोबारको पहिलो दिन पनि सेयरबजार भारी अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ३७ अंकले घट्दा कारोबार रकम पनि सवा १ अर्ब पनि पुगेको छैन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.२९ अंकले घटेर ३७३.८५ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

आइतबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १० करोड २९ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज रिभर फल्स पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.५६ प्रतिशतले घटेको छ ।

कूल २२३ वटा कम्पनीको ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ४० लाख ९१ हजार २ सय १२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।