बोर्ड अध्यक्ष हमालको हातबाट जुस पिएर कोइरालाले तोडे अनशन, १९ बुँदे माग पूरा गर्ने सहमति


काठमाडौं । विगत १० दिन देखि आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाले आज अनशन तोडेका छन् ।

शुक्रबार धितोपत्र बोर्डले लगानीकर्ताले उठाएका १९ बुँदे माग पुरा गर्न सहमति भएपछि लगानीकर्ता कोइरालाले अनशन तोडेका हुन् ।

१० दिनदेखि अनशनरत कोइरालाले बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

अनशनको १० औं दिनमा कोइरालाको संयोजकत्वमा लगानीकर्ताले उठाएका १९ बुँदैमा सहमति गरेर यथाशिघ्र कार्यान्वयन गर्ने प्रतिवद्धता गरेको अध्यक्ष हमालले बताए ।

आजदेखि तिलकजीले अनशन तोड्ने, हामी कार्यान्वयनमा लाग्ने छौं । हमालले भने मेरो अनुरोध छ तिलकजीले जुस खाएर अनशन तोड्नुहुनेछ, हामीले आइतबारदेखि हाम्रो यो कार्यान्वयन समितिले काम अगाडी बढाउने छ ।

लगानीकर्ताहरुलाई विश्वस्थ हुन आग्रह गर्दै हमालले भने “हामीले गर्नुपर्ने यो बुँदाहरुमा नपरेका कुराहरुलाई पनि लगानीकर्ताहरुसँग बसेर यो बजारलाई स्वस्थय सफा र उत्साहजनक बनाउँछौं ।”

साथै हमालले राष्ट्रबैंकसँग गर्ने समन्वय अगाडी बढाइरहेको र परेमा नेपाल सरकारसँग पनि बढी सहकार्य गरेर बजारलाई अहिलेको कठिनाईबाट उकास्न विहान देखि बेलुकासम्म लागि परेको बताए ।

अनशनरत लगानीकर्ता कोइरालाले यो आन्दोलन र अनशन अन्तिम, निर्णायक र ऐतिहासिक भएको बताए ।

“अब पुँजीबजार सुधारका लागि हामीले फेरि अनशन बस्नुपर्दैन, आन्दोलन गर्नुपर्दैन”, कोइरालाले भने “माग कार्यान्वय हुने प्रतिबद्धताले पुँजीबजार, लगानीकर्ता, सेबोन र सरकारको जित भएको छ ।”

कोइरालाले आन्दोलनमा साथ दिने सबै लगानीकर्ता, मिडियाकर्मी, स्वास्थ्यकर्मी, लगानीकर्ताका संघसंगठनका नेताहरुलाई धन्यवाद दिए।